डिजिटल अर्थतन्त्र आज विश्व आर्थिक प्रणालीको प्रमुख आधार बनेको छ । मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत भुक्तानी, डिजिटल वालेट, ई–कमर्स तथा सामाजिक सञ्जालले आर्थिक गतिविधिलाई तीव्र, सहज र सीमाहीन बनाएका छन् । यी प्रविधिले सेवा प्रवाहलाई आधुनिक बनाएका छन्, वित्तीय समावेशीकरण विस्तार गरेका छन् र नागरिकको दैनिक जीवनलाई सरल बनाएका छन् । तर, प्रत्येक प्रविधिसँग जोखिम पनि जोडिएको हुन्छ । डिजिटल प्रविधिको यही तीव्र विस्तारले साइबर अपराधलाई नयाँ आयाम दिएको छ । अपराध अब भौगोलिक सीमाभित्र सीमित छैन; यसले अन्तरदेशीय स्वरूप ग्रहण गरिसकेको छ ।
विगतमा अपराधीले पीडितसम्म पुग्न प्रत्यक्ष सम्पर्क, भौतिक उपस्थित वा स्थानीय सञ्जालको आवश्यकता पथ्र्यो । आज भने एउटा स्मार्टफोन, नक्कली वेबसाइट, फिसिङ लिंक, सामाजिक सञ्जालको नक्कली प्रोफाइल वा विदेशी सर्भरको प्रयोग गरेर हजारौँ किलोमिटर टाढाबाट समेत आर्थिक अपराध गर्न सम्भव भएको छ । कृत्रिम पहिचान, भर्चुअल निजी सञ्जाल , क्रिप्टोकरेन्सी र डिजिटल भुक्तानी प्रणालीको दुरुपयोगले अपराध अनुसन्धानलाई थप जटिल बनाएको छ । नेपालमा पछिल्ला वर्षहरूमा अनलाइन बेटिङ, अवैध सट्टेबाजी, नक्कली लगानी योजना, फिसिङ, ओटीपी चोरी, डिजिटल वालेट दुरुपयोग, सामाजिक सञ्जालमार्फत हुने ब्ल्याकमेलिङ तथा विदेशी नेटवर्कद्वारा सञ्चालित साइबर ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको देखिन्छ । यी प्रवृत्तिले साइबर अपराध अब व्यक्तिगत आर्थिक क्षतिको विषय मात्र नरही राष्ट्रिय सुरक्षा, वित्तीय स्थायित्व, डिजिटल सार्वभौमिकता, सार्वजनिक विश्वास तथा सुशासनसमेत प्रभावित गर्ने गम्भीर नीतिगत चुनौतीका रूपमा स्थापित भएको स्पष्ट संकेत गर्छ ।
मानिसले एक समय जुवा खेल्न क्यासिनो जानुपथ्र्यो । सट्टा लगाउन गल्ली खोज्नुपथ्र्यो । ठगी गर्न नक्कली कागजात बनाउनुपथ्र्यो । आज जेबमा मोबाइल छ । त्यही मोबाइलभित्र क्यासिनो पनि छ, दलाल पनि छ, ठग पनि छ, जसले पाँच मिनेटमै करोडपति बनाइदिने ग्यारेन्टी दिन्छन् । हामी डिजिटल युगमा बाँचिरहेका छौँ । तर कहिलेकाहीँ यस्तो लाग्छ प्रविधि अघि बढेको होइन, लोभले प्रविधिलाई अपहरण गरेको हो । आज संसारको सबैभन्दा ठूलो अपराधी बन्दुक बोकेर हिँड्दैन । उसले सुट लगाउँछ, टाइ लगाउँछ, आकर्षक कार्यालय सजाउँछ, चम्किलो वेबसाइट बनाउँछ र आफ्नो परिचयमा ठूलो अक्षरले लेख्छ— ‘वित्तीय स्वतन्त्रता विशेषज्ञ ।’ उसको बोलीमा मिठास हुन्छ, अनुहारमा आत्मविश्वास हुन्छ र शब्दमा यति सम्मोहन हुन्छ कि मानिसले सत्यभन्दा सपना सजिलै पत्याउँछ । उसले लगानी होइन, लोभ बेचिरहेको हुन्छ । उसले अवसर होइन, भ्रमको व्यापार गरिरहेको हुन्छ । केही क्लिकमै धनी बनाउने आश्वासन दिएर उसले हजारौँ मानिसको परिश्रमको कमाइ लुटिरहेको हुन्छ ।
कहिलेकाहीँ लाग्छ, अहिलेको समाजमा सबैभन्दा ठूलो विश्वविद्यालय फेसबुक हो । सबैभन्दा ठूलो बैंक टेलिग्राम हो । र सबैभन्दा ठूलो क्यासिनो एउटा मोबाइल एप । जसले जीवनभर गणितमा ३० नम्बर ल्यायो, उही आज क्रिकेटको प्रत्येक बलमा करोडको भविष्यवाणी गरिरहेको छ । ‘यो बल चौका हुन्छ ।’ ‘यो ओभरमा तीन विकेट ।’ ‘यो टिमले १७८ रन ।’ भगवान्ले पनि भविष्य यति स्पष्ट देख्दैनन् होला । तर हाम्रो डिजिटल भविष्यवक्ता भने प्रत्येक मिनेट धनी बनाउने सपना बेचिरहेको हुन्छ ।
अनलाइन जुवाको सबैभन्दा ठूलो शक्ति पैसा होइन, आशा हो । त्यो आशाले मानिसलाई भन्छ— ‘अर्को पटक जित्छौ ।’ जुवाको इतिहास यही एउटा वाक्यमा अडिएको छ । जितेकाले खेल्दैन, हारेकाले छोड्दैन । यही मनोविज्ञानलाई एल्गोरिदमले अध्ययन गरिरहेको छ । तपाईं कहिले खेल्नुहुन्छ, कति हार्नुभयो, कहिले निराश हुनुहुन्छ, कहिले तलब आउँछ सबै थाहा छ । अब जुवा भाग्यमाथि चल्दैन, तपाईंको व्यवहारमाथि चल्छ ।
सबैभन्दा दुःखद् दृश्य के हो? एउटा किसान ऋण तिर्न नसकेर रोएको दृश्य? एउटा बेरोजगार युवक अवसर खोजिरहेको दृश्य? त्यो पनि पीडादायी हो । तर अझ पीडादायी दृश्य तब हुन्छ, जब एउटा विद्यार्थी परीक्षा तयारी छोडेर लाइभ बेटिङ हेर्दै बस्छ । किनकि त्यो केवल पैसा गुमाइरहेको हुँदैन, उसले भविष्य गुमाइरहेको हुन्छ ।
अनलाइन ठगीको सबैभन्दा ठूलो हतियार कम्प्युटर होइन, मानिसको लोभ हो । यदि लोभ बन्द भयो भने, आधा साइबर अपराध आफैँ बन्द हुन्छ । किनकि ठगले कहिल्यै गरिबी बेच्दैन । उसले सपना बेच्दछ । र सपना बेच्ने बजार संसारकै सबैभन्दा महँगो बजार हो ।
आज डिजिटल ठगीले केवल बैंक लुट्दैन, विश्वास लुट्छ । विश्वास गुमेपछि प्रविधि पनि शंकास्पद हुन्छ । कसैले वास्तविक सहयोग मागे पनि मानिस भन्छ— ‘कतै स्क्याम त होइन?’ यही हो डिजिटल अपराधको सबैभन्दा ठूलो क्षति । यसले पैसा मात्र होइन, समाजको नैतिक पुँजी पनि नष्ट गर्छ ।
अचम्म लाग्छ । विद्यालयमा अझै पनि बच्चाहरूलाई त्रिभुजको क्षेत्रफल सिकाइन्छ । तर फिसिङ लिंक कसरी चिन्ने, त्यो सिकाइँदैन । नदीको लम्बाइ कण्ठ गराइन्छ । तर इत्ए कसैलाई नदिनु भन्ने जीवनोपयोगी शिक्षा हुँदैन । परीक्षामा आउने कुरा पढाइन्छ, जीवनमा आउने कुरा होइन ।
कतिपय अभिभावक सोच्छन्— ‘मेरो छोरा त मोबाइलमै व्यस्त छ । घरमै छ । सुरक्षित छ ।’ तर उनीहरूलाई थाहा हुँदैन, त्यो बच्चा घरभित्र बसेर संसारकै ठूलो अपराध बजारसँग जोडिइरहेको हुन सक्छ । अपराधले अब ढोका ढकढक्याउँदैन । त्यो वाइफाइमार्फत प्रवेश गर्छ ।
हामी अपराधीलाई दोष दिन्छौँ । दिनैपर्छ । तर एउटा प्रश्न आफूलाई पनि सोध्नुपर्छ । किन प्रत्येक चमत्कारमा हामी यति सजिलै विश्वास गर्छौँ? किन ‘सय प्रतिशत नाफा’ सुन्नासाथ विवेक छुट्टीमा जान्छ? किन मेहनतभन्दा सर्टकट प्रिय लाग्छ? यदि समाजलाई सजिलो झूट मन पर्छ भने, ठगहरूको उद्योग कहिल्यै बन्द हुँदैन ।
डिजिटल अर्थतन्त्र विश्वासमाथि टिकेको हुन्छ । यदि विश्वास मरे, डिजिटल विकास पनि मर्छ । यसैले साइबर सुरक्षा नैतिक विषय पनि हो । यो शैक्षिक विषय पनि हो । यो सांस्कृतिक विषय पनि हो ।
राज्यले कानुन बनाउनुपर्छ । कडा बनाउनुपर्छ । अन्तर्राष्ट्रिय सहकार्य गर्नुपर्छ । डिजिटल सम्पत्तिको निगरानी गर्नुपर्छ । साइबर प्रहरीलाई आधुनिक बनाउनुपर्छ । बैंकहरूको सुरक्षा प्रणाली बलियो बनाउनुपर्छ । तर यति गरेर मात्र पुग्दैन । किनकि सबैभन्दा कमजोर पासवर्ड प्रायः कम्प्युटरमा होइन, मानिसको विवेकमा हुन्छ ।
हास्यास्पद कुरा के छ भने, हामी मोबाइलमा फेस लक राख्छौँ । तर दिमागमा कुनै लक राख्दैनौँ । अज्ञात व्यक्तिले भन्यो— ‘तपाईं भाग्यशाली विजेता हुनुहुन्छ ।’ हामी तुरुन्त विश्वास गर्छौँ । ‘तपाईंलाई पुरस्कार परेको छ ।’ हामी नाच्न थाल्छौँ । ‘पहिले सानो शुल्क तिर्नुस् ।’ हामी झन् उत्साहित हुन्छौँ । त्यसपछि बैंक खाता खाली हुन्छ । र अन्त्यमा फेसबुकमा लेख्छौँ— ‘साथीहरू, म स्क्याममा परेँ ।’ दुःखको कुरा, त्यो स्टाटस लेख्ने बेलासम्म ठग अर्को शिकार खोज्न थालिसकेको हुन्छ ।
सभ्यताको इतिहास हेर्दा हरेक युगमा डाकु थिए । पहिले जंगलमा बस्थे । पछि सडकमा आए । अहिले क्लाउडमा बस्छन् । पहिले घोडामा चढ्थे । अहिले हाइ–स्पिड इन्टरनेटमा दौडिन्छन् । पहिले मुख छोप्थे । अहिले प्रोफाइल फोटोमा सूट लगाउँछन् । अपराधको विकास पनि प्रविधिसँगै भइरहेको छ । त्यसैले नैतिकताको विकास त्यसभन्दा तीव्र हुनुपर्छ ।
समृद्ध राष्ट्र त्यहाँ बन्दैन, जहाँ सबैले धेरै पैसा कमाउँछन् । समृद्ध राष्ट्र त्यहाँ बन्छ, जहाँ पैसा कमाउने प्रत्येक बाटो इमानदार हुन्छ । किनकि अवैध सम्पत्तिले महल बनाउन सक्छ, तर सभ्यता बनाउन सक्दैन । अन्ततः प्रश्न प्रविधिको होइन, प्रश्न मानिसको हो । मोबाइल दोषी होइन । मोबाइल चलाउने चेतना दोषी वा निर्दोष हुन्छ । इन्टरनेट अपराधी होइन । अपराधी त लोभ, छल, कपट र अनैतिक महत्वाकांक्षा हुन् ।
हामीले डिजिटल नेपाल बनाउने सपना देखेका छौँ । तर यदि डिजिटल चेतना निर्माण गर्न सकेनौँ भने, त्यो सपना डिजिटल दलदलमा परिणत हुन धेरै समय लाग्ने छैन । याद राखौँ, जुवाले कहिल्यै समाज धनी बनाएको इतिहास छैन । ठगीले कहिल्यै राष्ट्र समृद्ध बनाएको इतिहास छैन । सट्टेबाजीले कहिल्यै चरित्र निर्माण गरेको इतिहास छैन । तर इमानदारी, मेहनत, विवेक र नैतिकताले भने सधैँ सभ्यता निर्माण गरेको इतिहास छ । डिजिटल युगमा सबैभन्दा ठूलो एन्टिभाइरस सफ्टवेयर होइन, जागरूक नागरिक हो । सबैभन्दा बलियो फायरवाल प्रविधि होइन, चरित्र हो । र सबैभन्दा सुरक्षित पासवर्ड अक्षर र अंकको संयोजन होइन, सत्य, विवेक र नैतिकताको संयोजन हो ।
यससँगै नेपालमा डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता, साइबर अनुसन्धानका लागि आवश्यक आधुनिक उपकरण, कृत्रिम बुद्धिमत्तामा आधारित डेटा विश्लेषण प्रणाली तथा दक्ष प्राविधिक जनशक्तिको अभाव स्पष्ट रूपमा देखिन्छ । ठूलो परिमाणमा हुने डिजिटल कारोबारबाट शंकास्पद गतिविधि पहिचान गर्न सक्षम स्वचालित विश्लेषण प्रणाली पर्याप्त विकसित हुन सकेको छैन । त्यसैगरी सामाजिक सञ्जाल, डार्क वेब, अनलाइन बेटिङ प्लेटफर्म तथा फिसिङ वेबसाइटहरूको नियमित निगरानी गर्ने साइबर गस्ती प्रणाली पनि अपेक्षित स्तरमा संस्थागत हुन सकेको छैन ।
फलस्वरूप नेपालमा साइबर सुरक्षा रणनीति अझै पनि प्रतिक्रियामूलक स्वरूपमा केन्द्रित देखिन्छ, जहाँ अपराध भइसकेपछि अनुसन्धान र अभियोजनमा बढी स्रोत परिचालन गरिन्छ । बदलिँदो डिजिटल अपराधको प्रकृतिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अब पूर्वसक्रिय साइबर सुरक्षा प्रणाली, वास्तविक समयमै सूचना आदानप्रदान गर्ने एकीकृत नेटवर्क, कृत्रिम बुद्धिमत्तामा आधारित जोखिम विश्लेषण, अन्तरसंस्थागत समन्वय तथा अन्तर्राष्ट्रिय सहकार्यमा आधारित आधुनिक अनुसन्धान प्रणालीको विकास अपरिहार्य भइसकेको छ ।
आधुनिक साइबर सुरक्षामा कृत्रिम बुद्धिमत्ता प्रभावकारी सुरक्षा उपकरणका रूपमा स्थापित हुँदै गएको छ । डिजिटल कारोबारको परिमाण तीव्र गतिमा बढिरहेका बेला परम्परागत निगरानी प्रणाली मात्र पर्याप्त हुँदैन । कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीले लाखौँ वित्तीय कारोबार, अनलाइन गतिविधि र नेटवर्क ट्राफिकलाई वास्तविक समयमै विश्लेषण गरी असामान्य व्यवहार, नक्कली वेबसाइट, फिसिङ लिंक, बोट नेटवर्क, ठगीमा प्रयोग हुने सामाजिक सञ्जाल खाता तथा शंकास्पद वित्तीय कारोबार तुरुन्त पहिचान गर्न सक्छ । यसले जोखिमको प्रारम्भिक संकेत प्रदान गरी अपराध हुनुअघि नै रोकथाम गर्ने क्षमता विकास गर्छ ।
तथापि, कृत्रिम बुद्धिमत्ता अन्तिम निर्णयकर्ता होइन । यसले निर्णय प्रक्रियालाई तथ्य, विश्लेषण र जोखिम मूल्यांकनमार्फत सहयोग गर्ने निर्णय–सहायक प्रणालीका रूपमा कार्य गर्नुपर्छ । अन्तिम निर्णय भने कानुन, नैतिकता, प्रमाण र मानव विवेकका आधारमा प्रशिक्षित अधिकारीबाटै हुनुपर्छ । यही मानवकेन्द्रित दृष्टिकोण अमेरिका, बेलायत, सिङ्गापुर तथा युरोपेली संघलगायत विकसित मुलुकहरूले अपनाइरहेका छन् ।
साइबर अपराध नियन्त्रण प्रहरी वा अनुसन्धान निकायको मात्र जिम्मेवारी होइन; यो साझा सामाजिक उत्तरदायित्वको विषय हो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, डिजिटल भुक्तानी सेवा प्रदायक, दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल कम्पनी, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजले समन्वित रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी शिक्षा विस्तार गर्नु, नागरिकलाई डिजिटल जोखिमबारे निरन्तर सचेत गराउनु तथा सुरक्षित डिजिटल व्यवहारको संस्कार विकास गर्नु दीर्घकालीन समाधानका आधार हुन् । वास्तवमा डिजिटल साक्षरता नै साइबर अपराधविरुद्धको पहिलो र सबैभन्दा प्रभावकारी सुरक्षा कवच हो ।
अनलाइन जुवा, सट्टेबाजी र डिजिटल ठगी सामान्य आर्थिक अपराधका सीमाभित्र सीमित छैनन् । यिनले राष्ट्रिय अर्थतन्त्र, वित्तीय प्रणाली, साइबर सुरक्षा, सार्वजनिक विश्वास, सुशासन तथा डिजिटल सार्वभौमिकतामाथि प्रत्यक्ष प्रभाव पार्ने बहुआयामिक चुनौती सिर्जना गरेका छन् । नेपालमा आवश्यक कानुनी आधार विद्यमान भए पनि प्रभावकारी कार्यान्वयन, अन्तरसंस्थागत समन्वय, आधुनिक डिजिटल फरेन्सिक पूर्वाधार, कृत्रिम बुद्धिमत्तामा आधारित निगरानी प्रणाली, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ ।
साइबर अपराध नियन्त्रणका लागि कानुन मात्र पर्याप्त हुँदैन; प्रविधि, सुशासन, संस्थागत उत्तरदायित्व, वित्तीय निगरानी, डिजिटल साक्षरता र अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रणनीतिका रूपमा अघि बढाउनुपर्छ । नेपालले पनि रोकथाम, पहिचान, अनुसन्धान र दण्डलाई एउटै समन्वित साइबर सुरक्षा संरचनाभित्र रूपान्तरण गर्न सके मात्र सुरक्षित, विश्वसनीय र दिगो डिजिटल अर्थतन्त्र निर्माण गर्न सम्भव हुनेछ ।
डिजिटल युगमा विश्वास नै सबैभन्दा मूल्यवान् सार्वजनिक सम्पत्ति हो, र त्यसको संरक्षण राज्य, निजी क्षेत्र तथा प्रत्येक नागरिकको साझा दायित्व हो । प्रविधि आफैँ न त मित्र हो, न त शत्रु; त्यसको चरित्र प्रयोगकर्ताको नैतिकताले निर्धारण गर्छ । यदि प्रविधिलाई विवेक, उत्तरदायित्व र सुशासनसँग जोड्न सक्यौँ भने डिजिटल युग समृद्धिको आधार बन्न सक्छ; तर यदि लोभ, छल र दण्डहीनतालाई प्रविधिको साथ मिल्यो भने यही डिजिटल संसार आर्थिक अपराधको विशाल साम्राज्यमा रूपान्तरण हुनेछ । त्यसैले सुरक्षित डिजिटल भविष्य निर्माण गर्ने पहिलो शर्त अत्याधुनिक प्रविधि होइन, उच्च नैतिक चेतना, सचेत नागरिक, उत्तरदायी संस्था र कानुनको निष्पक्ष शासन हो । जब प्रविधि, नीति, नैतिकता र नागरिक चेतना एउटै दिशामा अघि बढ्छन्, तब मात्र डिजिटल विकासले समृद्धि, सुरक्षा र सार्वजनिक विश्वासलाई दिगो रूपमा सुनिश्चित गर्न सक्छ । (लेखक नेपाल सरकारका उपसचिव हुन् ।)