काठमाडौं, भदौ १० को बाढीले नेपालमा कुल ७ खर्ब हाराहारीमा क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकलन गरेको छ । यो प्राधिकरणले गरेको ‘र्यापिड ड्यामेज एसेसमेन्ट’ हो ।
हुन त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै पुनर्निमाणमा करिब ७ खर्ब लाग्ने आकलन गरिसकेका छन् । प्राधिकरणबाट यस्तो तथ्यांक आए पनि राष्ट्रिय योजना आयोग भने जलविद्युत् आयोजनाको विवरण पर्खिरहेको छ ।
एक सहसचिवका अनुसार आयोग यही विवरण संकलन गर्दै छ । यसका लागि उसले प्राविधिक टोली नै खटाएर अध्ययनरत हुँदा एकीन विवरण आउन केही समय लाग्नेछ । रसुवा जिल्लामा भोटेकोशी बाढीले गत बुधबार वितन्डा मच्चाउँदा हालसम्म १ हजार बढीको ज्यान गएको छ भने सम्पर्कविहीन हुनेको संख्या करिब ५ हजार पुगेको प्राधिकरणकै तथ्यांकले देखाएको छ । बाढीले साढे ७ हजार बढी भवनमा क्षति पुगेको प्रारम्भिक आकलन छ ।
११ जलविद्युत् आयोजनासहित, कृषि तथा गाईवस्तु, दर्जन बढी बैंकका शाखा कार्यालय लगायत सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । यसमा अझै थपघट हुन सक्नेछ । भोटेकोशीको बाढी त्रिशूली नदीमा मिसिँदा नुवाकोटमा सबैभन्दा बढी ३ हजार ९७७ वटा, जसमा विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त छन् भने रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको छ । ल्हेन्दे खोला मिसिएपछि भोटेकोशी बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा मात्रै १ हजार ४० वटा घरमा क्षति पु¥याएको छ भने कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएको छ ।
धादिङतर्फ १ हजार ४५१ घरमा क्षति पुगेको छ । जसमा बेनीघाट रोराङमा १ हजार ३७, गल्छीमा १०७, गजुरीमा ८९ र सिद्धलेकमा २२८ घरमा क्षति पुगेको प्राधिकरणको प्रारम्भिक अनुमान छ । बाढीले गोरखामा २६३ र चितवनको इच्छाकामना गाउँपालिकामा १६१ घरमा क्षति पु¥याएको छ । उक्त तथ्यांकअनुसार निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । बाढीले सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी ४५ वटा संरचनामा क्षति पुग्दा साढे ४ अर्ब रुपैयाँको थप नोक्सानी भएको छ ।
सडक फेरि बनाउन ५० अर्ब लाग्ने
यसैबीच, सडक विभागले सडक पूर्वाधारमा मात्र ३० अर्ब बढी रुपैयाँको क्षति पुगेको अनुमान गरेको छ । बाढीले झण्डै चार दर्जन पुल बगाएको थियो भने ४० किमि सडक ध्वस्त पारेको छ । सोही कारण क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचनालाई थप सुरक्षित र आधुनिक प्रविधिसहित पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ ।
सडक विभागका महानिर्देशक विजय जैसीले प्रारम्भिक अध्ययनमा सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको क्षति देखिएको मंगलबार जानकारी दिए । उनका अनुसार यसअघि विभागले करिब २० अर्ब रुपैयाँको क्षति अनुमान गरेको थियो । तर कृष्णभीर र त्रिशूली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब ३० अर्ब पुर्याइएको हो ।
जैसीले क्षतिग्रस्त संरचना पहिलेकै अवस्थामा मात्र पुनर्निर्माण नगरी भविष्यमा आउन सक्ने ठूला विपद्लाई समेत थेग्ने गरी निर्माण गर्नुपर्ने बताए । यसले लागत बढाउनेछ । नयाँ प्रविधि प्रयोग, सडकको लेभल माथि उठाउने र ठूला तथा लामा पुल निर्माण गर्नुपर्ने भएकाले सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने उनको भनाइ छ ।
अहिले राष्ट्रिय योजना आयोगअन्तर्गतका टोलीसहित विभागका प्राविधिक टोली समेत प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा छन् । एक सातापछि क्षतिको एकीकृत आकलन आउन सक्नेछ ।