काठमाडौं । विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन् । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी तथा विपद् प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी गत बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।कम्पनीका अनुसार बाढी आउनुअघिका सात दिनसम्म प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहक निःशुल्क सेवाका लागि योग्य भएका छन्। सुरुमा बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराइएकोमा विपद्को अवस्था कायमै रहेकाले शनिबारदेखि थप सात दिनका लागि सेवा अवधि बढाइएको हो।एनसेलका अनुसार आइतबारसम्म ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध भएका मोबाइल टावरहरू क्रमशः पुनः सञ्चालनमा आउँदै गएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।
विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पुर्याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।बाँकी तीन साइटमध्ये रसुवाको घट्टेखोला र टिमुरेका दुई तथा नुवाकोटको त्रिशूली–बिदुर क्षेत्रमा रहेको एक टावरमा भौतिक रूपमा क्षति पुगेको आशंका गरिएको छ। ती साइटहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक तथा अन्य काम भइरहेको जनाइएको छ।
यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकका सिमकार्डको सेवा पनि पुनः सक्रिय गरिदिएको छ। ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमहरूलाई समेत कम्पनीले पुनः सक्रिय गरेको हो।पुनः सक्रिय गरिएका ती ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन्। यसबाट विपद्को कठिन घडीमा प्रभावित नागरिकहरू आफ्ना परिवार, आफन्त तथा सरोकारवाला निकायसँग सम्पर्कमा रहनुका साथै उद्धार, राहत तथा अन्य आवश्यक सहयोगका लागि सहज रूपमा सञ्चार गर्न सक्षम भएका छन्।