काठमाडौं, नेपाली सुरक्षा निकायहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको संयुक्त प्रयासबाट भोटेकोशी (त्रिशूली) बाढीको कारण पहिरोमा परी हराएका चार जनाको जीवितै उद्धार गरिएको छ । तीनवटा सुरक्षा निकायले एक चिनियाँसहित तीन जना नेपालीलाई जीवितै उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमा चण्डिका श्रेष्ठ, सञ्जय साह, कविर महर्जन र एक चिनियाँ नागरिक रहेका छन् ।
शनिबार पहिरोले हराएका खोजी गर्ने क्रममा चण्डिका श्रेष्ठ र चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेसँगै जीवित उद्धार हुनेको संख्या चार जना पुगेको हो । चिनियाँ नागरिकलाई नेपाली सेना र कोरियाको बाढी पहिरो टोलीले शनिबार दिउँसो उद्धार गरेको हो । नेपाली सेना र कोरियाको बाढी पहिरो टोलीले शनिबार दिउँसो १ः २० बजे माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट चिनियाँ नागरिकलाई उद्धार गरेको हो । उनी आयोजनाको अडिट ४ टनेलमा रहेको समयमा उद्धार टोलीले सकुशल टनेलबाट बाहिर ल्याएको हो ।
बाढी आएको ११औँ दिनमा चिनियाँ नागरिकलाई टनेलबाट बाहिर ल्याएपछि नुवाकोटको त्रिशूलीस्थित ब्यारेकमा ल्याइएको थियो । त्यहाँबाट उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत सेनाको छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा ल्याइएको सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । ‘उद्धारपछि उनलाई छाउनीस्थित अस्पतालमा राखिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, उनले भने । चिनियाँ नागरिकलाई छाउनीमा गएर चिनियाँ दूतावासका अधिकारीहरूले समेत भेट गरेका छन् । अस्पतालमा ल्याएसँगै दूतावासका अधिकारीहरूले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका प्रवक्ता बस्नेतले जानकारी दिए ।
६४ वर्षीया श्रेष्ठलाई भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिउँसो करिब ३ बजेतिर उद्धार गरेको हो । विदुर नगरपालिका १० वेत्रावती बजारमा रहेको घरमा श्रेष्ठलाई उद्धार टोलीले फेला पारेको हो । उद्धार टोलीले श्रेष्ठको घरको हिलो सफा गर्ने क्रममा उनले आवाज दिएसँगै उद्धार गरिएको प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले जानकारी दिए । ‘उद्धार टोलीले हिलो पन्छाउने क्रममा घर नजिकबाट आवाज आयो । बचाऊ–बचाऊ भन्ने आवाज आएसँगै उद्धार टोलीले घरको कोठमा पहिरोले थुनिएर रहेकी श्रेष्ठलाई उद्धार गरिएको हो’, उनले भने, ‘त्यसपछि उद्धार टोलीले फुटेको झयालबाट भित्र काठोमा पसेर उनलाई बाहिर ल्याएको हो ।’
श्रेष्ठको उद्धारपछि सेनाको हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पतालमा ल्याएर उपचार भइरहेको छ । प्रहरी निरीक्षक महेन्द्र दर्नाको नेतृत्वमा खटिएका सशस्त्र र प्रहरीको संयुक्त टोलीले श्रष्ठको उद्धार गरेको उनले बताए । श्रष्ठको घुँडामा गहिरो चोट लागेको तथा उक्त घाउमा इन्फेक्सन समेत भएकोले त्यसको उपचार हुँदैछ । उनका उपचारमा संलग्न चिकित्सकहरूले भने परिवारलाई नआत्तिन र स्वास्थ्यमा सुधार आउने बताएका छन् । श्रेष्ठको चार तले घर १० गतेको बाढीले भत्काएको थियो ।
सेनालगायतका संयुक्त उद्धार टोलीले शुक्रबार भने कबिर महर्जन र सञ्जय शाहलाई जीवित उद्धार गरेको हो । ‘त्रिशूली थ्री ए’मा कार्यरत मर्हजन र साहलाई शुक्रबार दिउँसो १० बजेतिर सुरुङबाट उद्धार गरिएको हो । उद्धार टोलीले सुरुङ खुलाउने क्रममा भित्रबाट आवाज आएसँगै हामी आउँदैछौँ भनेर बाहिरबाट आवाज दिएको उद्धारमा खटिएका प्रमुख सेनानी गंगा बरालले बताए । ‘भित्रबाट आवाज आएपछि हामीले बिस्तारै सुन्यौँ र फसेकाहरूलाई हामी आउँदैछौँ भनेर आवाज दियौँ फसेकाहरूले हुन्छ भने त्यसपछि उद्धार कामलाई अघि बढाई दुई जनालाई जीवितै बाहिर ल्याउन सक्यौँ’, बराललले भने, ‘सेनाभित्रको सामाजिक उत्तरादियत्व समूहको संयुक्त कार्यले पहिरोपछि पहिलो जीवितै उद्धार गर्न हामी सफल भएका हौँ ।’
उद्धारपछि उनीहरूलाई पनि नुवाकोटको त्रिशूलीस्थित ब्यारेकमा आवश्यक उपचारपछि सेनाको हेलिकोप्टरले छाउनीस्थित सैनिक अस्पताल ल्याएको हो । मेकानिकल सुपरभाइजर महर्जन काठमाडौं बालकुमारी ३ स्थायी घर भएका ४५ वर्षीय महर्जन आयोजनाको कार्यस्थलबाट सम्पर्कबिहीन भएका थिए । हाल भने महर्जनको स्वास्थ्य अवस्थामा सुधार आएको उनकी श्रीमती हरि शोभा महर्जनले बताइन् । महर्जनलाई परिवार तथा आफन्तले भेटघाटा गरेका छन् ।
सप्तरी जिल्लाको कोईलाडी ८ स्थायी घर भएका साहलाई पनि छाउनी अस्पतालमा गएर आफन्तले भेटेका छन् । उनको पनि स्वास्थ्यमा अवस्थामा सुधार आइरहेको उनका दाई देव कुमार साहले बताए । ‘भाइको जीवित उद्धार गर्ने टोलीहरूको कामलाई हदयदेखि आभार व्यक्त गर्नु चाहन्छु । यति धेरै दिएपछि आफ्नो भाइ जीवित उद्धार भएकोमा ज्यादै खुशी लागेको छ’, उनले भने । साहको एक आफन्तले माया मारिसकेको अवस्थमा जीवित पाउँदा धेरै खुशी लागेको बताइन् ।
महर्जन नेपाल विद्युत् प्राधिकरणका मेकानिकल सुपरभाइजर हुन् भने साह मेकानिकाल फोरम्यान हुन् । सेनाले भने १०औँ र ११औँ दिनको कठिन सघर्षपछि जीवितै उद्धार गर्न सकेको बताएको छ । जीवित उद्धार गरेर उनीहरूलाई पुनरजन्म दिन सफल भएको सेनाले जनाएको छ । तीनवटै सुरक्षा निकायले उद्धारको कामले निरन्तरता दिने बताइएको छ । बाढी र पहिरोको कारण अझै पाँच हजार जना बेपत्ता तथा सम्र्पकविहीन रहेका छन् भने उनीहरूको समेत खोजी कार्य निरन्तर भएको गृह मन्त्रालयले जनाएको छ ।
१३ हजारभन्दा बढीको उद्धार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार हालसम्म १३ हजार एक सय नौ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार एक सय ६२ जना , नेपाल प्रहरीले चार हजा ६५ जना तथा सशस्त्र प्रहरी बलले चार हजार आठ सय ७१ जनाको उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये तीन सय चार जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाले हेलिकोप्टरमार्फत नौ सय ७३ पटक उडान गरेको छ भने काठमाडौंका विभिन्न क्षेत्रबाट निजी क्षेत्रमार्फत समेत एक सय २९ पटक उद्धार उडान गरिएको छ ।
बाढीमा परी हालसम्म पाँच हजार नौ सय २२ जना घाइतेको उपचार गरिएको छ । विभिन्न अस्पतालमा तीन सय १६ जना, सेनाबाट दुई हजार दुई सय १७ जना र सशस्त्र प्रहरीबाट दुई हजार तीन सय १९ जनाले स्वास्थ्य उपचार पाएका छन् । साथै, १८ वटा शव सनाखत भइसकेको प्राधिकरणले जनाएको छ ।
रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार एक हजार नौ सय ६७ जना नेपाली नागरिक, नुवाकोटबाट करिब दुई हजार तीन सय ४० जना नेपाली नागरिक र पाँच सय ८९ जना विदेशी नागरिक तथा करिब एक हजार जना सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका छन् । प्राधिकरणका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी नौ हजार सात सय १५, सेना नौ हजार दुई सय ८७ जना तथा सशस्त्र प्रहरी बल चार हजार दुई सय तीन जना परिचालन गरिएको छ ।
काठमाडौं, रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा राहत सामग्रीसमेत पठाइएको छ । काठमाडौंबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो र हेलिकोप्टरका नौवटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । प्रभावित क्षेत्रमा हाल ५७ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।