काठमाडौं, विनाशकारी भोटेकोशी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा एनसेलका मोबाइल तथा अप्टिकल फाइबर पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक आँकलनअनुसार प्राकृतिक विपद्बाट कम्पनीलाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको एनसेलले जनाएको छ।बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा समेत पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ।
बाढी तथा पहिरोका कारण नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ।बाँकी साइटमध्ये रसुवाको घट्टेखोला र टिमुरे क्षेत्रमा रहेका टावर प्रभावित भएका छन्। टिमुरेस्थित एक टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने नुवाकोटको त्रिशूली–विदुर क्षेत्रमा रहेको एक टावर तथा रसुवाको तिरुस्थित टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ।यसैबीच, कम्पनीले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी भदौ १० गतेदेखि उक्त सेवा सुरु गरिएको हो।
बाढी आउनुअघिको सात दिनभित्र प्रभावित क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ। सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो।कम्पनीका अनुसार आइतबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य एक करोड रुपैयाँभन्दा बढी पुगेको छ। प्रभावित क्षेत्रमा मोबाइल टावरहरू क्रमशः सञ्चालनमा आउँदै जाँदा निःशुल्क सेवाको प्रयोगसमेत बढ्दै गएको जनाएको छ।
विपद्को समयमा ग्राहकलाई निरन्तर सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सिम सेवा पुनः सक्रिय गरिदिएको छ। ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिम पुनः सक्रिय गरिएको कम्पनीले जनाएको छ। ती ग्राहकले पनि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न पाएका छन्।
एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएससमेत सम्प्रेषण गर्दै आएको जनाएको छ।साथै, कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर कोड तथा लिंक आधिकारिक भए–नभएको सुनिश्चित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विपद्सँग सम्बन्धित विभत्स र हृदयविदारक फोटो तथा भिडियो सामग्री सार्वजनिक नगर्न तथा त्यस्ता सामग्री राखिएको भए तत्काल हटाउनसमेत कम्पनीले अपिल गरेको छ।