काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको कुल निक्षेप खाता संख्या छ करोड ३४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ क्षेत्रको कुल निक्षेप खाता संख्या छ करोड ३४ लाख २५ हजार दुई सय ९६ पुगेको हो । यो संख्या गत अघिल्लो आवको तुलनामा ४९ लाख ९६ हजार नौै सय २९ अर्थात् आठ दशमलव ५५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकिङ क्षेत्रमा कुल पाँच करोड ९४ लाख २९ हजार तीन सय ६७ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुल निक्षेप खाता संख्यामध्ये पछिल्लो अवधिमा बाँणिज्य बैंकहरूमा पाँच करोड ४४ लाख ४९ हजार पाँच सय ३९, बिकास बैंकहरूमा ७८ लाख ८३ हजार छ सय ७२ र फाइनान्स कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा रहेको छ । अघिल्लो आवमा भने निक्षेप खाताको संख्या वाणिज्य बैंकहरूमा पाँच करोड नौ लाख ८६ हजार एक सय ७१, विकास बैंकहरूमा ७४ लाख ५३ हजार तीन सय ४७ र फाइनान्स कम्पनीहरूमा नौ लाख ६७ हजार आठ सय ४९ वटा रहेको थियो ।
आव २०८२/०८३ मा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाताको सख्या भने २० लाख ३१ हजार छ सय ३४ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या १९ लाख ५५ हजार पाँच सय ५८ रहेको थियो । राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा वाणिज्य बैंकहरूमा १७ लाख नौ सय ३४, विकास बैंकहरूमा दुई लाख ६१ हजार चार सय ४७ र फाइनान्स कम्पनीहरूमा ६८ हजार नौ सय ८३ वटा कर्जा खाताहरू सञ्चालनमा रहेक छन् । अघिल्लो आवमा भने भने वाणिज्य बैंकहरूमा १६ लाख ४४ हजार पाँच सय ४५, विकास बैंकहरूमा दुई लाख ७१ हजार २७ र फाइनान्स कम्पनीहरूमा ५० हजार नौ सय ८५ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
बाढी प्रभावित क्षेत्रमा रहेका बैंकका शाखा स्थानान्तरण गर्न सहज
नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण प्रभावित भएका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालय स्थानान्तरण गर्न सहज हुने गरी एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरू समेतको नाममा परिपत्र जारी गर्दै एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा थप गरी यस्तो व्यवस्था कार्यान्वनयमा ल्याउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरेको पत्रमा उल्लेख छ । संशोधित व्यवस्थाअनुसार सम्वत् २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालयहरूलाई बैंकिङ सेवा यथाशीघ्र सुचारु गर्ने प्रयोजनका लागि विशेष सुविधा दिइएको हो । अब त्यस्ता प्रभावित शाखा वा कार्यालयलाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले स्वयम् स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन् ।
यसरी शाखा स्थानान्तरण वा समायोजन गरिएपछि भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने परिपत्रमा उल्लेख छ ।
यसैबिच राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई बैंकिङ सेवा लिन सहज वातावरण बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था समेतको नाममा परिपत्र जारी गर्दै विपद्बाट प्रभावित ग्राहकको बैंकिङ पहुँच सहज बनाउन आवश्यक सहयोग तथा सहजीकरण गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार हालैको बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लामा बैंकिङ कारोबार गर्न आवश्यक पर्ने चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई समस्या परेको हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न निर्देशन दिइएको हो
राष्ट्र बैंकका अनुसार सूचनामा विपद्का कारण आवश्यक कागजात गुमाएका ग्राहकको हस्ताक्षर नमूना, फोटो तथा ग्राहकका अन्य विवरणका आधारमा ग्राहक यकिन (पहिचान) गरी बैंकिङ कारोबारमा आवश्यक सहजीकरण गर्न भनिएको छ ।