काठमाडौं, विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूलाई एक हप्ताभित्र बाँकी बक्यौता तिर्न सरकारले अल्टिमेटम दिएको छ । एक साताभित्र सम्पूर्ण बक्यौता भाडा नबुझाएमा त्यस्ता उद्योगको बिजुली र खानेपानी सेवा काटिने सेज प्राधिकरणले चेतावनी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि सेजले उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य देय रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न निर्देशन जारी गरेको हो । मन्त्री यादवले सरकारी सम्पत्ति प्रयोग गरेर वर्षौंदेखि भाडा नतिर्ने उद्योगलाई अब कुनै पनि बहानामा छुट नदिन निर्देशन दिएकी थिइन् । प्राधिकरणले तयार गरेको बक्यौता विवरणअनुसार केही उद्योगले नियमित रूपमा भाडा तिरे पनि धेरै उद्योगले लामो समयदेखि भाडा नतिरेका पाइएको छ । कतिपय उद्योगले आंशिक रकम बुझाएका छन् भने कतिपयले सम्झौता अनुसारको भाडासमेत तिरेका छैनन् । प्राधिकरणका अनुसार कुल उठ्न बाँकी बक्यौता करिब १ करोड ९४ लाख ६३ हजार रुपैयाँभन्दा बढी पुगेको छ ।
प्राधिकरणले हालसम्म १६ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको पनि जनाएको छ । सेज व्यवस्थापनका अनुसार सम्बन्धित उद्योगहरूलाई पटक–पटक लिखित तथा मौखिक रूपमा भाडा तिर्न आग्रह गरिए पनि तिर्न आएका छैनन् । बक्यौता बुझाउन अन्तिम सूचना जारी गरिएकाले तोकिएको सात दिनभित्र बक्यौता नतिर्ने उद्योगमाथि सेवा बन्द गर्ने, सम्झौता कार्यान्वयन गर्ने तथा आवश्यक परे थप कानुनी कारबाहीसमेत गरिने तयारी गरिएको सेज प्राधिकरणले जनाएको छ । सेज प्राधिकरणले अबदेखि नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने, नयाँ बक्यौता सिर्जना हुन नदिने र पुराना सबै बक्यौता असुलीलाई अभियानकै रूपमा अघि बढाउने जनाएको छ ।