काठमाडौं, कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पुँजी संरचना सुदृढीकरण गर्दै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता गरेको छ ।
कम्पनीको पुँजी संरचना, वित्तीय तथा व्यावसायिक अवस्था र सम्भावित आईपीओको तयारीका लागि आवश्यक अध्ययन तथा संरचनागत सुधार अघि बढाउने उद्देश्यले सम्झौता गरिएको हो । आईपीओमार्फत सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य एग्री केयर नेपालले लिएको जनाएको छ । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्शअन्तर्गत आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारी, पुँजी संरचना तथा सम्भावित आईपीओको आकार निर्धारण, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, आवश्यक संरचनागत सुधार र नियामकीय प्रक्रियामा समन्वय लगायतका सेवा उपलब्ध गराउनेछ । कम्पनीले आईपीओ निष्काशनको तयारीलाई केवल पुँजी संकलनको प्रक्रियाका रूपमा नभई आफ्नो संस्थागत संरचना, वित्तीय पारदर्शिता र व्यावसायिक क्षमतासमेत थप सुदृढ बनाउने अवसरका रूपमा अघि बढाउने जनाएको छ ।
सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले सुरुवाती चरणमा बोटबिरुवाको पोषण, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीको क्षेत्रमा काम गर्दै आएको थियो । कम्पनीले सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएर जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत आफ्नो व्यवसाय विस्तार गरेको हो ।
पछिल्ला वर्षमा कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सिड कन्डिसनर्स तथा बायो–इनपुट्सलगायतका क्षेत्रमा काम गर्दै आएको छ। किसानलाई आवश्यक कृषि सामग्रीसँगै प्राविधिक जानकारी तथा परामर्श उपलब्ध गराउने कामलाई समेत कम्पनीले प्राथमिकता दिँदै आएको जनाएको छ । एग्री केयर नेपालले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई प्राथमिकतामा राखेको बताएको छ । किसानलाई कृषि प्रविधि र उत्पादनसम्बन्धी जानकारी उपलब्ध गराउन विभिन्न तालिम तथा फिस्ड डेमोन्स्ट्रेसन/फार्मर फिल्ड कार्यक्रम समेत सञ्चालन गर्दै आएको कम्पनीको भनाइ छ ।
आईपीओको तयारीसँगै कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि आवश्यक पुँजी जुटाउने र पुँजी बजारमा संस्थागत उपस्थिति बलियो बनाउने अवसर पाउने अपेक्षा गरिएको छ । यद्यपि आईपीओ निष्काशनको अन्तिम निर्णय तथा प्रक्रिया भने आवश्यक अध्ययन, कम्पनीका संरचनागत सुधार र सम्बन्धित नियामकीय स्वीकृतिपछि अघि बढ्नेछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य, योजना व्यवस्थापन, डिपोजिटरी, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धलगायतका मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने अनुमति पाएको छ ।