काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभामा उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे । अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने गरेको बताए । ‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ । हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ’, उनले भने ।
नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई केवल साक्षीका रूपमा उपस्थित गराउने नभई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए । अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यवसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । व्यावसायिक वातावरण सहज र लगानीमैत्री बनेमा निजी क्षेत्र बलियो हुने र त्यसबाट समग्र अर्थतन्त्र तथा सरकारको राजस्वसमेत स्वतः बढ्ने उनले बताए ।
नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान कति छ भन्ने विषयमा समेत स्पष्ट तथ्यांक आवश्यक रहेको उनले बताए । ‘पर्यटनको अर्थतन्त्रमा वास्तविक योगदान कति हो भन्ने कुरा तथ्यांकमा स्पष्ट हुनुपर्छ । पर्यटनलाई प्राथमिकतामा राख्ने हो भने यसको योगदान, सम्भावना र प्रभावको पनि सही मूल्यांकन हुन आवश्यक छ,’ उनले भने । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको उनले बताए ।