काठमाडौं, एनआईसी एसिया क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभा अशुक्रबार, क्यापिटलको रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा संचालक समितिको अध्यक्ष रुपेश लुईँटेलले २० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख भन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यसै गरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८३ सम्म आठ लाख ६३ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फन्ड सेवाअन्तर्गत चारवटा बन्दमुखी र दुईवटा खुलामुखी योजना गरी जम्म छ वटा योजनामार्फत सात अर्ब भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको, लगानी व्यवस्थापन सेवाअन्तर्गत सात सय १० जना ग्राहकहरुबाट तीन अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, सेयर रजिस्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आईपीओ सेवाअन्तर्गत २५ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको जानकारी दिए ।
साथै क्यापिटलले १०औं वार्षिक साधारणसभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म तीन सय ४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी गराए ।