काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष बद्री केसी नियुक्त भएका छन् ।संघका महासचिव चिरञ्जीवी खड्काले प्रमुख संरक्षकमा केसीलाई नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । केसीलाई १३ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न नभएसम्मका लागि प्रमुख संरक्षकमा नियुक्त गरिएको एनआरएनएले जनाएको छ । केसी यसअघि ११ औँ र १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए ।
विभिन्न समूहमा विभाजित भएको एनआरएनएलाई एक ठाउँमा ल्याएर १२ औँ महाधिवेशनमार्फत सहमतिका आधारमा नेतृत्व चयन गर्न केसीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । साधारण सदस्यका रूपमा एनआरएनएमा प्रवेश गरेका केसी सन् २००९ र २०११ मा केन्द्रीय सदस्य बनेक भने त्यसपछि कोषाध्यक्ष भए । त्यसपछिका दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाले । सन् २०२१ मा उनी पहिलो पटक अध्यक्ष बनेका हुन् । २०२१ देखि २०२३ र २०२३ देखि २०२५ सम्म उनी अध्यक्ष रहे । सन् १९९० मा रसिया पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजीमा स्नातकोत्तर र सन् २००१ मा पिएचडी (विद्यावारिधि) तह पूरा गरेका छन् ।