कपिलवस्तु । शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सिंहको शव निरन्तर खोजी गर्ने क्रममा आइतबार जंगलमा भेटिएको जनाएको छ ।
सिंहको खोजी गर्ने क्रममा जंगलको बीच भागमा सिंहको शव तथा उनले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए । कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएका सिंहले त्यसको करिब डेढ घण्टापछि उनले फोन मार्फत आफू निकटका केही व्यक्तिलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेका थिए ।
सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जंगलको बाटो छोटो हुने भन्दै जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । उनलाई शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए । प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।