काठमाडौं, नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले नयाँ पुस्ताका तीन विद्युतीय स्कुटर याडिया जीएस७०, जीटी७० र जीटी ८० विद्युतीय स्कुटरहरू नेपालमा सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ । नयाँ तीन वटै स्कुटरले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकसम्मका विविध आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेका छन् । यी स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि तथा उन्नत सुरक्षा सुविधासहित बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । याडिया जीएस७० मा २.१ केडब्लुएच एलएफपी ब्याट्री तथा २.८ केडब्लू पीक मोटर जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्ने कम्पनीको भनाई छ ।
यस्तै लामो दूरी यात्रा गर्ने तथा अधिक रेन्ज चाहने ग्राहकका लागि निर्माण गरिएको कम्पनीले जस्टी७० डिजाईन गरेको हो । यसमा ५.७ केडब्लुएच डुअल एलएफपी ब्याट्री प्रणाली तथा ३.७ केडब्लु पीक मोटर रहेको छ । यसले २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरि याडिया जीटी८० मा ३.६ केडब्लुएच लिथियम ब्याट्री, ५ केडब्लु पीक मोटर, ८० किमि÷घण्टासम्मको उच्च गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो स्कुटर विशेष रूपमा विकास गरिएको हो ।
तीनै मोडेलमा स्मार्ट कनेक्टिभिटी र सुरक्षा प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । स्कुटरहरूमा ब्लुटुथ कनेक्टिभिटी, स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी लगायतका सुविधा उपलब्ध छन् । त्यस्तै, विभिन्न सडक तथा भौगोलिक अवस्थामासमेत नियन्त्रण र स्थिरता कायम राख्न ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम लगायतका सुरक्षा प्रविधि समावेश गरिएको कम्पनीको भनाइ छ ।
याडियाले नयाँ तीनै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यसले विद्युतीय स्कुटरको ब्याट्रीको दीर्घकालीन प्रयोगप्रति ग्राहकको विश्वास बढाउने अपेक्षा गरिएको छ । कम्पनीले नाइमा अटो शो सम्पन्न नभएसम्म तीनै मोडेलमा १० हजार रुपैयाँ विशेष छुट उपलब्ध गराएको जनाएको छ । ग्राहकले आधिकारिक याडिया शोरुममा पुगेर नयाँ मोडेल अवलोकन, टेस्ट राइड तथा फाइनान्सिङ र स्वामित्वसम्बन्धी जानकारी लिन सक्नेछन् ।