काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले बाढी तथा डुबानबाट भएको ठूलो क्षतिको पुनस्र्थापना र पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने बताए । उनले राहत, पुनस्र्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनएसँग सहकार्य र समन्वय गर्ने जानकारी दिए ।
रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको उनको भनाइ छ । सरकारले एकद्वार प्रणाली लागू गरे पनि एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र त्यसको पूर्व तथा पश्चात् आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने उनले जानकारी दिए । विदेशमा रहेका नेपालीसँग विभिन्न क्षेत्रमा रहेको सीप, अनुभव र विशेषज्ञतालाई विपद्पछिको पुनस्र्थापना तथा पुनर्निर्माणमा उपयोग गर्न एनआरएनसँग समन्वय गर्ने उनको भनाइ थियो ।
एनआरएनएका अध्यक्ष डा. हेम राज शर्माले संघले पाँच करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरेको बताए । उनले संघको टोली रसुवा र नुवाकोटमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिलगायत सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री वितरण तथा हस्तान्तरण गरिसकेको पनि जानकारी दिए । पहिलो चरणमा प्रभावित स्थानमै पुगेर सरकारले अघि सारेको एकद्वार प्रणाली अनुसार नै राहत तथा मानवीय सहायता उपलब्ध गराएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण गरिएको उनले बताए ।
साथै, आगामी दिनमा संघको राहत अभियानमार्फत संकलित सहयोग रकम क्रमशः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्दै जाने उनको भनाइ छ । अध्यक्ष डा. शर्माले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा समेत आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गर्न संघ इच्छुक रहेको बताए । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राहत सामग्री, स्वास्थ्य शिविर, औषधि तथा चिकित्सकीय सेवा र पुनर्निर्माणका काममा एनआरएनए प्रत्यक्ष रूपमा सहभागी हुन तयार रहेको बताए ।