काठमाडौँ, एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकीकृत रूपमा उपलब्ध गराउने एनसेल बिजनेस क्लाउडसुइट सञ्चालनमा ल्याएको छ । स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरिएको छ ।
क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थितिको व्यवस्थापन एउटै प्लेटफर्मबाट गर्न सक्ने एनसेलले जनाएको छ । सेवामा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायत सुविधा समावेश छन् । एनसेलले व्यवसायको आवश्यकताअनुसार दुईवटा वेब होस्टिङ प्याकेज उपलब्ध गराएको छ । मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा छन् ।
त्यस्तै, मासिक २ हजार रुपैयाँ पर्ने प्रो प्याकेजमा थप स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँचवटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटले नेपाली व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग पुग्ने बताए । उनका अनुसार स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधाले व्यवसायलाई डिजिटल सेवा प्रयोगमा थप नियन्त्रण र सहजता प्रदान गर्नेछ ।
एनसेलका अनुसार क्लाउडसुइटअन्तर्गत वेबसाइट होस्टिङ तथा डेटा नेपालभित्रै रहनेछ । यसले ग्राहकलाई वेबसाइट डेटा तथा डिजिटल सम्पत्ति देशभित्रै राख्न, डेटामाथि थप नियन्त्रण कायम गर्न र नियामक आवश्यकताहरू पूरा गर्न सहज हुने कम्पनीको दाबी छ । कम्पनीले क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवालाई प्राथमिकता दिएको जनाएको छ ।