भक्तपुर । भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा आश्रय लिएर बसेका एक सुकुम्वासी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।बिहीबार बिहान परिवारसहित बस्दै आएको कोठामा पंखामा झुण्डिएको अवस्थामा ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएका हुन्। भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपककुमार कार्कीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरीले बिहान करिब १० बजे उनको शव उठाएको थियो।
बोडेस्थित उक्त केन्द्रमा अहिले २३ परिवारका ६७ जना सुकुम्वासीलाई राखिएको छ। उनीहरू लामो समयदेखि अस्थायी आश्रयस्थलमा बस्दै आएका छन्।यसअघि पनि थापाथली र बल्खु क्षेत्रमा बस्दै आएका दुई सुकुम्वासीले आत्महत्या गरेका थिए। पछिल्लो घटनासँगै विस्थापित सुकुम्वासीको अवस्था र उनीहरूको व्यवस्थापनप्रति पुनः प्रश्न उठेको छ।
सरकारले वैशाख १२ गते काठमाडौं उपत्यकाका विभिन्न खोला किनारमा डोजर चलाएर बस्ती हटाएपछि ठूलो संख्यामा सुकुम्वासी विस्थापित भएका थिए। त्यसबेला सरकारले १५ दिनभित्र उनीहरूको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो। तर चार महिना बितिसक्दा पनि स्थायी व्यवस्थापन हुन नसक्दा विस्थापित परिवारहरू अस्थायी होल्डिङ सेन्टरमै कठिन अवस्था गुजार्न बाध्य छन्।
अझै १ सय १३ परिवारका २ सय ६३ जना सुकुम्वासी होल्डिङ सेन्टरमै रहेको बताइएको छ। लामो समयसम्म अस्थायी आश्रयमा बस्नुपर्दा रोजगारी, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनमा समेत समस्या देखिँदै आएको छ।सरकारले विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापनका लागि ठोस योजना अघि नबढाउँदा उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ। बोडेमा भएको पछिल्लो घटनाले पनि विस्थापित परिवारको मानसिक तथा सामाजिक अवस्थाप्रति राज्यले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।