मस्को, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफमा रूसले पनि प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् । सिन्ह्वाका अनुसार प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीले अन्तरराष्ट्रिय समुद्री कानुन उल्लंघन गर्दै रुसी आर्थिक संस्थाका जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको बताएका हुन् ।
‘यदि उनीहरूले हाम्रा जहाज कब्जा गर्छन् भने हामी पनि त्यस्तै गर्नेछौँ’, पुटिनले भने । पुटिनको टिप्पणी युरोपेली नौसैनिक फौजले रुसी ‘छाया फ्लीट’ अन्तर्गतका भनिएका जहाजमाथि निगरानी, अवरोध र निरीक्षण बढाएका बेला आएको हो । भूमध्यसागरमा इटालीको नेतृत्वमा युरोपेली संघ (ईयू)ले सञ्चालन गरेका गतिविधि पनि यसमा समावेश छन् । जुलाईको अन्त्यमा ईयूले थप ४१ वटा ‘छाया फ्लीट’ जहाजलाई बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । साथै, रूसलाई तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्यांकर बिक्री गर्दा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको थियो ।
रूसले पश्चिमी मुलुकले युक्रेन युद्धका कारण लगाएका प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । ती जहाजमार्फत रूसी तेल तथा अन्य वस्तुको ढुवानी हुने गरेको पश्चिमी मुलुकको दाबी छ ।