काठमाडौं, नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दुध खरिदबिक्री गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । आगामी भदौ १ गतेदेखि संघ र साना किसान लघुवित्तका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानहरुले १५ हजार लिटर दूध दैनिक डीडीसीलाई उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
सम्झौताअनुसार दैनिक ६० हजार लिटर दूध डीडीसीलाई प्रदान गर्ने उल्लेख छ । डीडीसीले यी दुई संस्थाका सञ्जालमार्फत यसअघि दूध लिएर तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दुधको मात्रा र गुणस्तर सुरुवाती संकलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ । संस्थानका महाप्रवन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा साबित हुने बताए । उनले दुग्ध संकलन र बजारीकरण मात्र नभई पशुपालन र दुग्ध उत्पादनको बहुआयमिक क्षेत्रमा पनि काम गर्ने जानकारी दिए । डीडीसीमा विगतदेखिका भुक्तानीलागयतका समस्याहरु अब नदोहोरिने महाप्रबन्धक पाण्डेको भनाइ छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा सम्झौताले सहयोग गर्ने बताए । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एकराज उप्रेतीले संघको सञ्जालमा रहेका संस्थाहरुले दैनिक ४७ हजार लिटर दूध उत्पादन गर्दै आएको जानकारी दिए ।