काठमाडौँ, रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले विपद्को समयमा कोषले गरेको सहयोगका लागि कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष बरालले प्राकृतिक विपद्, महाभूकम्प, महामारीलगायतका राष्ट्रिय सङ्कटका समयमा कर्मचारी सञ्चय कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्दै आएको राससलाई बताए । सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको उनले बताए ।
त्यसैगरी, कोषका प्रशासक श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि कोषले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा राष्ट्रिय सङ्कटको समयमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कर्मचारी सञ्चय कोषले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुने अपेक्षा गरेको छ ।