काठमाडौं, नेपाल टेलिकमले रसुवा बाढीबाट प्रभावित भएका थप तीनवटा साइट सुचारु गरेको छ । कम्पनीले मंगलबार धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु गरेको हो । कम्पनीका अनुसार कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । यससँगै अब प्रभावित १२० साइटमध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट लगभग पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटहरूलाई समेत क्रमिक रुपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।