काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा मातृभाषा अनुवादक समाज ले उद्धार तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ।बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्तीमा ठूलो धनजनको क्षति हुनुका साथै सडक सञ्जाल र अन्य भौतिक संरचनासमेत प्रभावित भएका छन्। विपद्पछि प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले समाज विभिन्न प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा सक्रिय भएको जनाएको छ।
मातृभाषा अनुवादक समाजले रसुवाका नाघट्टेखोला, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ खोला क्षेत्र र शान्ती बजार, नुवाकोटका सोले, वेत्रावती, अकरे, त्रिशूली र खाल्डे लगायतका स्थानमा राहत तथा उद्धार कार्य सञ्चालन गरेको छ। त्यस्तै, बाढीबाट प्रभावित धादिङको गल्छी लगायतका विभिन्न क्षेत्रमा समेत आवश्यक सहयोग पुर्याइएको समाजले जनाएको छ। बाढीले बस्ती बगाउनुका साथै सडक तथा यातायात सञ्जालमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो।

यस्तो कठिन परिस्थितिमा पनि मातृभाषा अनुवादक समाज प्रभावित नागरिकको सहयोगका लागि विभिन्न स्थानमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा जुटिरहेको जनाएको छ। विपद्बाट प्रभावित परिवारको पीडामा साथ दिँदै आवश्यक मानवीय सहयोगलाई निरन्तरता दिने समाजको प्रतिबद्धता रहेको बताइएको छ। बाढीपछिको कठिन घडीमा सरकारी निकाय, सुरक्षाकर्मी, विभिन्न संघसंस्था तथा स्वयंसेवीहरूको सहकार्यमा खोज, उद्धार र राहत वितरणका गतिविधि विभिन्न प्रभावित क्षेत्रमा निरन्तर सञ्चालन भइरहेका छन्।