प्रजातन्त्र वा लोकतन्त्रको नाममा नेपाली जनताले राजा, प्रधानमन्त्री र नेताहरूलाई सम्बोधन गरी गाली गर्ने शब्दावलीहरूलाई हामीले हेर्ने हो भने हामी कुन दिशातिर उन्मुख हुदैछौं भन्ने स्पष्ट हुन्छ । स्वर्गीय राजा वीरेन्द्रलाई ‘वीरे चोर देश छोड’ भन्दै नारा लगाउने यिनै नेपाली जनतालाई हामीले केटाकेटी हुँदै देखेका थियौ, पछि पूर्वराजा ज्ञानेन्द्रलाई पनि ‘ज्ञाने चोर, मूर्ति चोर, देश छोड’ भन्ने नेपाली जनतालाई पनि हामीले भोग्न पायौं । पछि २०५०–५१ सालतिर स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि ‘तालु खुइले गिरिजा, भारततिर छिरिजा’ भन्ने नारा लगाएको सुनियो ।
त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, के.पी. शर्मा ओलीलगायत र अन्य नेताहरूले जनताबाट पाएको गालीको वर्षाको उल्लेख गरेर साध्य छैन । नेपालको लोकतन्त्र यति अस्वस्थ छ कि राजनीतिमा आफूलाई स्थापित गर्न विपक्षको खैरो खन्नै पर्ने बाध्यता नेपालको राजनीतिमा देखिएको छ । पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई गरिएको गालीको वर्षा, अश्लिल शब्द र तुच्छ निन्दा र चर्चा यदि सामाजिक सञ्जालमा हेर्ने हो भने लगभग उल्लेख गरिएका गालीका शब्दहरू पढ्न सक्ने अवस्थामा छैनन् ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूबाट सुरु गरिएको यो अश्लिल गाली र तुच्छ बेइज्जतीको संस्कृति जो सामाजिक सञ्जालहरूमा देखिएको छ यसैले नै झन् ठूलो भयावह अवस्थाको सिर्जना गरेको छ । हालको अवस्थालाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूले सामाजिक सञ्जालमार्फत पाएका गालीका वर्षा, तुच्छ शब्दहरूको बारेमा उल्लेख गरेर साध्य लाग्दैन । ‘घन्टे ग्याङ,’ ‘खरानी ग्याङ’, ‘खरानी सरकार’, ‘ट्यापे’, ‘गजडी’, ‘लुसिफर’, ‘पापी’ ‘तेलि,’ ’देश जलाउने अपराधी’ लगायत अनेकौं दर्जनौं तुच्छ शब्दद्वारा गाली गर्ने यिनै नेपाली जनताहरू हुन् ।
गत केही वर्षदेखि अनुसन्धानको यस्तो परिणाम आयो र निष्कर्ष निकालियो कि संसारका सबैभन्दा मूर्ख र बौद्धिक क्षमता कम भएका नागरिकहरूको सूचीको पहिलो नम्बरमा नेपालीहरू पर्नुको कारण कतै यही त होइन ? जब जब देशमा विपत्ति र प्राकृतिक प्रकोप आउँदछ तब नेपालीहरू एकले अर्कोलाई दोषारोपण गर्ने प्रवृत्ति देशमा देखिएको छ । विगतमा पनि भूकम्प आउँदा तत्कालीन सत्तापक्ष र राजनीतिक दललाई दोष लगाउने र सरकारलाई दोष लगाइएको थियो ।
ठ्याक्कै त्यही घटना अहिले पनि देखिएको छ जसले नेपालीहरूको बौद्धिक स्तर र चेतनाको स्तरलाई जनाउँदछ । भारी जनमतद्वारा निर्वाचित भएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई गरिएको गालीगलौज, प्रयोग गरिएका तुच्छ शब्दहरू र लगाइएका दोषहरूलाई मात्र अध्ययन गर्ने हो भने पनि यो निष्कर्षमा आउन सकिन्छ कि नेपालीहरूमा चेतनाको अवस्था एकदमै कमजोर भइसकेको छ र उनीहरू आफ्ना विरोधीहरूलाई तुच्छ शब्दहरूद्वारा गाली गर्नु नै आफ्नो महानता र सफलता ठान्दछन् ।
हालैका दिनहरूमा रसुवा र नुवाकोट हुँदै आएको बाढीमा हताहत भएका, जनधनको ठूलो क्षति भोगेका र घाइतेहरूको उद्धार र उनीहरूलाई राहत वितरण गर्नु र उनीहरूप्रति समवेदना प्रकट गर्नुको साटो यो पुस्ता चेतनाहीन तवरले र निकृष्ट लज्जास्पद ढङ्गले एकअर्कालाई दोषारोपण गर्नु नै आफूलाई योग्यको ठान्दछ । यतिसम्म कि प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो धार्मिक आस्थाको कारण मुक्तिनाथ मन्दिरमा दर्शन गर्न मुस्ताङ पुगेलगत्तै उनका विरोधीहरूले यो पनि भन्न भ्याए कि उनी अमेरिकनहरूसँग मुस्ताङको युरेनियम सम्बन्धित गोप्य सम्झौता गर्न पुगेका थिए । फर्केको भोलिपल्टै चीनले रिसाएर नेपालतर्फको ड्याम खोलिदियो र जसले गर्दा ठूलो जनधनको क्षति नेपालमा भयो भन्नेसम्मको अपुष्ट, भ्रामक, कपोकल्पित र षड्यन्त्र सिद्धान्त बनाएर जनमानसलाई भ्रमित गर्ने तुच्छ खेलमा लाग्न सुरु गरे ।
निश्चय नै लोकतन्त्रमा सार्वजनिक व्यक्तिहरूको विरोध र आलोचना गर्न पाइन्छ । जसलाई समालोचना भन्न सकिन्छ तर त्यो आलोचना स्वस्थ, सभ्य, तथ्यपरक, मर्यादित र कानुनसम्मत हुनुपर्छ तर आलोचना वा समालोचनाको साटो एकोहोरो निकृष्ट गाली गलौज, निर्लज्ज शब्दहरू र अश्लिल कुतर्कहरूको वर्षाद्वारा कसैको अपमान गर्न हामी थाल्छौं भने त्यसलाई गाली बेइज्जति मानिन्छ र यस्तो अपराधजन्य कसूर कानुनद्वारा दण्डित हुन्छ ।
हाल देखिएको अर्को समस्यालाई हेरौँ जसले नेपालीहरूको बौद्धिक क्षमता र चेतनाको स्तरलाई थाहा पाउन सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी श्रीमतीलगायत प्रधानमन्त्री बालेन्द्र शाहप्रति बनाइएका व्यङ्गात्मक गीत र एआई भिडियोलगायत अन्य सामाजिक सञ्जालमा आएका गीतहरू सुन्ने हो भने नेपाली समाजमा चेतनाको स्तर शून्यमा पुगेको हो भनी भनी शंका गर्न सकिन्छ । त्यतिमात्र होइन लोकतन्त्रमा कुनै एउटा दल, कुनै एउटा राजनीतिक आस्था वा विचार, धार्मिक आस्था र विचारलाई लिन र स्वीकार गर्न पाइन्छ । यसको अर्थ आफ्नो अधिकारको उपभोग गर्न पाइन्छ तर अर्काको हक र अधिकारलाई हनन गर्न भने पाइँदैन भन्ने अति नै साधारण जानकारी र के यस्तो सम्मको आधारभूत ज्ञान पनि नेपालीहरूमा नभएकै हो त?
अहिले हामी सबैले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । देशमा फैलिएको हिंसा, विभाजन, वैमनस्यता र प्राकृतिक प्रकोपले हाम्रो अस्तित्वमाथि नै प्रश्न उठाइरहेको छ । हामी कोही कम्युनिस्ट, कोही कांग्रेस, कोही माओवादी, कोही रवि वा बालेनका समर्थक हौं तर सबैभन्दा पहिले हामी एउटै आकाशमुनि, एउटै माटोमा जन्मिएका नेपाली हौं । राजनीतिक विचार वा कुनै पनि नेताको नामले अब हामीलाई आपसमा टुक्र्याउन दिनु हुँदैन । सबैले बुझौ यस्तो मार्गले केवल विनाश ल्याउँछ, निर्माण होइन । अहिले हामी प्रेम, दया, करुणा, सहानुभूति र सद्भावका मूल्यहरूलाई क्रमशः बिर्सिंदैछौं ।
अब समय आएको छ कि यो आगोमा घिउ हाल्ने बेला होइन तर त्यसलाई निभाउने प्रयास गरौँ । अब घृणाको सट्टा दया, माया र प्रेम फैलाऔं, अविश्वासको सट्टा विश्वास निर्माण गरौं । अब हामी सबै नेपालीहरू एकताबद्ध भएर राष्ट्रिय हितलाई ध्यान दिऔं । राजनीतिक झगडाभन्दा माथि उठेर प्रेम, सहयोग र सहिष्णुताको हात बढाऔँ । साथै, एक अर्कालाई दोषारोपण गर्न बन्द गरौँ । यही मार्गले मात्र हाम्रो देशलाई बचाउनेछ र हामीलाई नयाँ उज्यालो दिएर नयाँ नेपाल निर्माण गर्न सहयोग गर्नेछ । हामी सबै नेपालीहरूले बुझौं कि एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो जसद्वारा मात्र हाम्रो राष्ट्रको पुननिर्माण हुनेछ ।
नेपालीहरूको चेतना र बौद्धिकताको स्तर शून्यतामा झर्दैछ भन्ने अर्को प्रमाण यो हो कि कुनै एउटा काम गर्दा आर्थिक रूपमा कोही कसैलाई फाइदा भयो भने सारा नेपालीहरू त्यसैमा झुम्मिहाल्ने बानी सायद सबैलाई थाहै छ । एक समय ट्याक्सी किनेर चलाउँदा फाइदा हुने देखेर आफन्त र सबै व्यक्तिहरू पनि ट्याक्सी किन्ने, कुखुरा फारम खोल्दा, बट्टाइ चरा पाल्दा वा ड्रागन फ्रुटको खेती गर्दा फाइदा हुन्छ भन्ने थाहा पाएर सबैले ड्रागन फ्रुटको खेती गरेको हामी सबैलाई थाहै छ ।
त्यसैगरी एक समय बट्टाइ चरा हरेक घरका छतछतमा पाल्न थालेको हामीले देखेका छौँ । त्यतिमात्र होइन चाँडै धनि हुने लोभले अनेकौ किसिमका ठगीमा फसेर आफूसंग भएको रूपैयाँ पैसासमेत नेपालीहरूले गुमाउनुको कारण नै चेतना र बौद्धिकताको कमी हो भनि विश्वास गर्न गर्हो पर्दैन । साथै जब फेसबुक मेटाले नेपालमा पनि मोनीटाइजेसन सुरुवात गर्यो अनि पैसा कमाउने धुनमा के स्कुले विद्यार्थी, के शिक्षक, पत्रकार, वकिल, किसान, गृहिणी सबैले आफ्नो पेशा र व्यवसायमा दक्ष हुनु त कता हो कता पैसा चाँडै कमाइन्छ भन्ने धुनमा सबैले भिडियोको खोलो पोस्ट गर्न थालेको हामीले देखेका छौं यसले नेपालीहरू कतिसम्म चेतनाहीन र बौद्धिकताहीन छन् भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।
एक समय हामीले यस्तो पुस्ता देखेका थियौँ जो पुस्तकमा रमाउँथ्यो तर आज हाम्रै अगाडि हामीले यस्तो पुस्ता देख्छौँ जो सामाजिक सञ्जालमा आएको लाइक र कमेन्टमा रमाउँछ र पैसा कमाउने धुनमा अरुको समवेदना, आँसु र पीडाको घाउलाई पैसा कमाउने माध्यम बनाउँछ । हालसालै तिब्बतबाट आएको बाढीले नुवाकोट, रसुवा, धादिङ र चितवनमा जुन विध्वंश मच्चायो त्यसले विश्वभरिको मानव समुदायको हृदयमा गहिरो चोट पुर्यायो तर हाम्रै समुदाय र हाम्रो समाजका नेपालीहरूको संवेदनहिनतालाई हामीले देख्यौं ।
पानी र हिलोमा बग्दै आएका लासहरूबाट नाक र कानमा लगाएका सुनका गहनाहरू लुछेर चोर्ने चरित्र र प्रवृति हाम्रै हो । अरुको पीडालाई मलमपट्टी लगाउनुको सट्टा, कसैलाई उद्धार गर्नुको सट्टा त्यसको फोटो र भिडियो खिचेर धेरै भ्युज पाउने र पैसा कमाउने लोभमा आज हामीले मानवको सेवा गर्न बिर्सिसकेका छौं । हामी कतिसम्म निर्लज्ज, निकृष्ट, दुष्ट र चेतनाहीन नेपाली समुदाय भयौ कि आज हामीले अर्कोलाई नेपाली कांग्रेसको सदस्य, अर्को कसैलाई एमालेको कार्यकर्ता, अर्कोलाई माओवादी र कसैलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यको रूपमा देख्छौं तर त्यो व्यक्ति हाम्रै समुदायको र हाम्रै परिवारको एक सदस्य हो भन्ने सामान्य चेतनासमेत हामीले लगभग गुमाइसकेका छौं ।
प्राकृतिक विपत्तिमा परेको बेला जब सयौं मानिसहरू हराइरहेका छन्, हजारौं हजार घरबारविहीन भएका छन् तर यस्तो अवस्थामा हामी उनीहरूलाई सहायता गर्न छोडेर र उनीहरूको घाउमा मलमपट्टी लगाउन छोडेर प्रकोपमा परी ज्यान गुमाएका लासहरूबाट बहुमूल्य सुन र चादीका गहनाहरू खोज्न थाल्छौं अनि पीडितका सम्पत्ति वा हराएका अन्य सम्पत्तिको लालचमा लाग्छौं भने हामीले सोच्नुपर्ने हुन्छ कि आज हाम्रो नैतिक धरातल केमा अडिएको छ?
देश रोइरहेको छ, हजारौं हजारका परिवारहरू घरबारविहिन भएका छन् र सयौं हराइरहेका छन् यस्तो अवस्थामा सामान्य मानवीय मूल्य र मान्यतालाई बिर्सिएर हामी फाइदाको पछाडि लाग्न थालेका छौं र पीडितको सम्पत्ति, ज्यान गुमाएकाहरूको गुमेको सम्पत्ति खोजेर पाइन्छ कि भन्ने लालचमा हामी परेका छौं । यिनै शोक र पीडामा परेका मानिसहरूका घाउमा मलमपट्टी गर्नुको सट्टा उनीहरूको फोटो र भिडियो दुरूपयोग गरेर हामी भ्युज बटुल्न लालायित हुँदैछौं । यसले हाम्रो चरित्र र प्रवृत्ति कतिसम्म पशुवत् हुँदैछ भन्ने कुरा छर्लङ्ग बनाएको छ यसलाई हामी आफँैले मूल्यांकन गर्नुपर्ने हो ।
हामी नेपालीहरू आज यति निर्लज्ज, यति तुच्छ र यति गतिछाडा भइसक्यौँ र हामी कतिसम्म गतिछाडा छौँ भन्ने कुरा सामाजिक सञ्जालमा हामीले पोस्ट गरेको फोटो, भिडियो र हामीले गरेका कमेन्टहरूले पुष्टि गर्छन् । जसलाई हाम्रो समुदाय, हाम्रा छिमेकी र हाम्रो समाजले निहालिसकेको छ । अब यतिसम्म गतिछाडा र निर्लज्ज पनि नहोऔँ कि विश्व समुदायले हामीलाई चेतनाहीन, बौद्धिकताहीन र क्रूर समुदाय भनेर नचिनोस् । विपत्तिको बेला अब हामीले यस्तो विपत्तिको दोष हाम्रा विरोधीहरूलाई नलगाउँ ।
लोकतन्त्रमा सधैंभरि पक्ष र विपक्ष हुन्छन्, सरकार पक्ष र प्रतिपक्ष हुन्छन्, अनेक दल हुन्छन् र अनेकौं दलका अनेकौं कार्यकर्ता हुन्छन् । एकले अर्कोको अस्तित्वलाई स्वीकार गरौं र विपत्तिको बेला सकिन्छ भने सकेको सहयोग पीडितलाई गरौँ र सकिँदैन भने उनीहरूको फोटो र भिडियोलाई दुरूपयोग गरेर सामाजिक सञ्जालमा मोनिटाइजेसन गरी रूपैयाँ पैसा कमाउने बाटो नहेरौँ । मेहनत गर्ने र परिश्रम गर्ने व्यक्तिले आयआर्जन गर्ने अरु पनि धेरै राम्रा र असल बाटाहरू पनि छन् त्यसको प्रयोग गरौं र हामी यतिसम्म संवेदनहीन पनि नबनौँ कि आफू र आफ्नो परिवारको पनि मरिसकेको लासको फोटो र भिडियो प्रयोग गरी दुई चार पैसा कमाएर पेट पाल्नुपर्ने अवस्था नआओस् ।
अब हामीलाई कुनै दल, कुनै राजनीतिक आस्था र धार्मिक विचारले विभाजित नगरोस् । यो दुःखको समयमा पीडामा परेका हाम्रै दाजुभाईहरूलाई र हाम्रो समुदायलाई के सकिन्छ सकेको सहयोग गरौं । प्राकृतिक विपत्तिलाई प्रयोग गरी कमाउने धन्दा नबनाऔँ, यसलाई राजनीतिक स्वार्थको रूपमा प्रयोग नगरौं, आफू र आफ्नो संस्थालाई प्रवर्द्धन गर्न र जनमानसलाई भ्रमित पनि नपारौँ । अरु बेला त हामीले धेरै पटक राजनीति ग¥यौँ, धेरैपटक आफ्ना स्वार्थ प्रेरित कार्यहरू गर्यौँ तर कमसेकम यो विपत्तिको समयमा निस्वार्थ मनले सकेको सहयोग राज्यले तोकेको तरिका र प्रणालीमार्फत गरौं । अब कुनै राजनीतिक दर्शन, धार्मिक आस्था वा कुनै पनि किसिमको वैचारिक आस्था वा कुनै पनि किसिमको स्वार्थलाई नबोकी यो प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरू, परिवार र समुदायलाई सक्दो सहायता गरौँ । (लेखक लुइटेल अधिवक्ता हुन् ।)