काठमाडौं,ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ।ललितपुर प्रहरीले शनिबार साँझदेखि पहिरो झर्ने क्रम नरोकिएकाले उक्त सडकखण्डमा सवारी साधन सञ्चालन हुन नसकेको जनाएको छ।
पहिरो पन्छाउन आवश्यक उपकरणसहितको टोली घटनास्थलमा तैनाथ रहे पनि लगातार पहिरो खसिरहेकाले सडक खुलाउने काममा समस्या भइरहेको प्रहरीले जनाएको छ। पहिरो पूर्ण रूपमा रोकिएपछि मात्रै सडक खुलाउने कार्य प्रभावकारी रूपमा अघि बढाउन सकिने जनाइएको छ। यसअघि पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं–मुग्लिन सडकखण्डको कृष्णभिर र परेवाभिर क्षेत्रमा पनि १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएपछि सडक सञ्चालनमा अवरोध उत्पन्न भएको छ।
काठमाडौं–हेटौंडा आवतजावतका प्रमुख सडकमार्गहरू प्रभावित बनेपछि हाल सञ्चालनमा रहेका वैकल्पिक मार्गहरूमा सवारी साधनको चाप बढेको छ। कान्तिलोकपथसमेत अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरू थप समस्यामा परेका छन्। प्रहरीले आवश्यक सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।