तेहरान, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको छ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो ।
इरानी सर्वोच्च नेता खामेनीले फेब्रुअरी २८ मा युद्ध सुरु हुँदा उहाँका बुबा अली खामेनी मारिएको केही समयपछि सत्ताको बागडोर सम्हालेका हुन् । सर्वोच्च नेताको नियुक्तिपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् र अधिकारीहरूले उनको कुनै भिडियो वा अडियो पनि सार्वजनिक गरेका छैनन् । ‘इस्लामी राष्ट्रहरूका समस्याहरूको समाधान शब्दको एकता, मित्रता र भलाइको बाटोमा सहकार्य हो’, उनले आइतबार शिया मुस्लिमहरूले पैगम्बर मोहम्मदको जन्मदिन मनाइरहेका बेला भनेका छन् ।
‘जानाजानी वा अनजानमै भए पनि कसैले पदमा भएर पनि मुस्लिमहरूबीच विभाजन ल्याउने र मुस्लिम समुदायमा द्वन्द्व सिर्जना गर्ने कुनै काम गर्छ भने उसले इस्लामका शत्रुहरूको उद्देश्य पूरा गर्न सेवा गरेको ठहर्नेछ’, उनले आफ्नो आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक वक्तव्यमा उल्लेख गरेका छन् ।
सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायलतिर संकेत गर्दै मध्यपूर्व क्षेत्रका शासकहरूलार्ई ‘आफ्नो वास्तविक शत्रु चिन्न, उसको योजना बुझ्न र त्यसको सामना गर्न’ आग्रह गरे । युद्धको क्रममा इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, कुवेत, कतार र बहराइनसहित मध्यपूर्वका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको थियो । त्यसपछि ती देशहरूसँगको सम्बन्ध बिग्रिएको छ ।
महत्वपूर्ण राज्य नीतिमा अन्तिम निर्णय गर्ने अधिकार भएका खामेनीले इरानी अधिकारी र नागरिकहरूलाई पनि मतभेद बिर्सेर इजरायल र अमेरिकाविरुद्ध एकजुट हुन आह्वान गरे । ‘फेरि पनि यस सेवकको इरानी जनतालाई सल्लाह छ कि कुनै पनि तरिकाले आफूबीच मतभेद आउन नदिनुहोस्’, उनले शुक्रबारको अर्को वक्तव्यको प्रतिध्वनि गर्दै भने ।
‘म दृढतापूर्वक घोषणा गर्छु, सामाजिक एकतामाथि हानिकारक कुनै पनि काम निषेधित छ’, उनले शुक्रबारको सन्देशमा भनेका थिए । शुक्रबार उनले इरानी अर्थतन्त्रलाई क्रमशः डलरमुक्त बनाउन र अमेरिकी नौसैनिक नाकाबन्दीका महिना र वर्षौँदेखिको कठोर प्रतिबन्धले जनजीवनमा पारेको असरपछि आर्थिक उत्पादन बढाएर वृद्धिमा सहयोग गर्न पनि आह्वान गरेको एएफपीले जनाएको छ ।