काठमाडौँ, भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।
उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३३ जनालाई डिस्चार्ज गरिएको हो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी गराए । उनका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी ४८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।
अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १५ जना घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन सम्पर्कविहीनका परिवारका सदस्य आइरहेको उनले बताए ।
अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् । उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा सम्पर्कविहीन व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।