काठमाडौँ, बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेका छन् । त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा नुवाकोट गएका मन्त्री श्रेष्ठले गृहमन्त्री सुधन गुरूङसँग छलफल गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
सैन्य तालिम केन्द्रमै बसेर गृहमन्त्री गुरूङले उद्वारका लागि समन्वय गरिरहेका छन् । सो अवसरमा जलविद्युत् आयोजनाको सुरूङमा फसेकाहरुको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरणबारे जानकारी गराए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि आजै मन्त्री श्रेष्ठसँग नुवाकोट गएका छन् । मन्त्री श्रेष्ठले आजै रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको उद्धार स्थलको निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।