काठमाडौं, नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागी ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
नाइमाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो । विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएको नाइमाले जनाएको छ । विपद् तथा आपतकालीन अवस्थामा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । ‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सक्छ,’ उनले भनिन् ।
खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ–संस्थाप्रति नाइमाले उच्च सम्मान व्यक्त गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई पनि आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।