चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुडिरहेको ईभी कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसन्तचोकको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा।प्र।०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।
स्थानीयका अनुसार कार गुडिरहेकै अवस्थामा आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए।प्रहरीले अनुसन्धानका क्रममा मृतकको पहिचान अमर पराजुलीका रूपमा खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डीएसपी० चन्द्र भुषण यादवका अनुसार पराजुली उक्त कारका चालक हुन्।
पराजुली नारायणी विद्या मन्दिर, शिवघाटका पूर्वसञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। उनी शुक्रबार बिहान कार चलाएर हेटौँडाबाट भरतपुरतर्फ आउँदै थिए। घटनाको कारणबारे भने अहिलेसम्म यकिन जानकारी नआएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।