काठमाडौं । काठमाडौं उपत्यकामा सर्वसाधारणले खाना पकाउने ग्यास अभाव खेपिरहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा सर्वसाधारणहरू ग्यास पाइने आशामा लामबद्ध रहेका छन् । काठमाडौंको अननामनगर, कोटेश्वर, कुलेश्वर, स्वयम्भूलगायतका दर्जनौँ क्षेत्रमा सर्वसाधारण ग्यासको आशामा बसेका छन् । करिब छ महिना हुन लाग्यो सर्वसाधारणले ग्यास सहज रूपमा नपाएको तर नवनियुक्त उद्योगमन्त्री दीपककुमार साह भने सरकारी बिदामा रहेका छन् । बिहीबार नियुक्त भएका साह शनिबार र आइतबार बिदामा रहेका छन् । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन थालेसँगै उनी बिदामा बसेका हुन् ।
ग्यास व्यवस्थापन गर्न नसकेको कारण निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुपरेको थियो । ग्यास अभाव परिपूपर्ति गर्न नसकेसँगै यादवले उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास नपाउने धम्की दिएकी थिइन् । र कर्मचारीको असहयोगले ग्यास वितरण गर्न नसकिएको भन्ने भनाइका कारण राजीनीमा दिनुपरेको थियो । यादवले भने व्यक्तिगत कारणले गर्दा पदबाट राजीनामा दिनुपरेको बताएकी थिइन् । यसरी मन्त्री परिवर्तन भइरहँदा डिपो सञ्चालकहरूले भने ग्यास पर्याप्त दिन नसक्ने बताएका छन् । स्वयम् साल्ट ट्रेडिङले समेत पर्याप्त ग्यास दिन नसक्ने बताएको छ ।
कोटेश्वरस्थित साल्ट ट्रेडिङमा ग्यास वितरण गरिरहेका इन्द्रबहादुर रेग्मीले ग्यास मागजतिको उपलब्ध गराउन नसकेको बताए । उनका अनुसार दैनिक तीन सयदेखि चार सयवटा ग्यास वितरण गरिए पनि अभावका कारण अहिले दुई सयभन्दा कम ग्यास वितरण गर्ने गरिएको छ । यता नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगबाट रिफिल गराइएका दुई लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याइएको जनाएको छ । निगमले पाँच दिन लगाएर उक्त परिमाणमा ग्यास उपत्यका ल्याएको हो ।
गत भदौ १४ गतेदेखि कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन निगमले वैकल्पिक आपूर्ति व्यवस्था मिलाएको हो । त्यसअन्तर्गत काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरहरू तराईका विभिन्न जिल्लामा पठाएर रिफिल गराई वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ । निगमको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार भदौ २२ देखि २६ गतेसम्म उपत्यकामा कुल दुई लाख ३३ हजार छ सय ६२ वटा ग्यास सिलिन्डर बिक्री वितरण भएका छन् । पाँच दिनमध्ये भदौ २४ गते सबैभन्दा धेरै ५३ हजार चार सय ६९ सिलिन्डर उपत्यका भित्रिएका थिए ।
त्यस्तै, भदौ २२ गते ४८ हजार एक सय नौ, भदौ २३ गते ४६ हजार दुई सय १८, भदौ २५ गते ४५ हजार दुई सय ३० र भदौ २६ गते ४० हजार छ सय ३६ वटा सिलिन्डर काठमाडौं ल्याइएको निगमले जनाएको छ । उपत्यकामा आपूर्ति गरिएका ग्यासमा श्री ग्यास, एभरेष्ट, नेपाल ग्यास, सगर, साईबाबा, एचपी, एसटीसी, श्रीराम, श्रीकृष्ण, ओम र सूर्यलगायत २० वटा ग्यास उद्योगका सिलिन्डर रहेका छन् । कृष्णभीर सडक खण्ड नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गमार्फत ग्यास आपूर्ति जारी राखिने निगमले जनाएको छ । राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक आपूर्ति व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गरिएकाले उपभोक्ताले ग्यास अभाव भोग्नुपर्ने अवस्था नरहेको निगमको दाबी छ । गत फागुनमा पश्चिम एसियामा द्वन्द्व भएसँगै ग्यासको अभाव भइरहेको छ ।
द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएसँगै ९ फागुन २०८२ देखि सरकारले आाधा सिलिन्डर अर्थात् १४.२ किलोग्रामको ग्यास वितरण गर्दै आएको थियो । द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुनु र आधा सिलिन्डर ग्यास वितरणले गर्दा उपत्यकामा ग्यास अभावलाई थप समस्या परेको देखिन्छ जसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन । बाढी पहिरोका कारण राजमार्ग अभाव हुँदा ग्यास अभावका समस्या थप हुन पुगेको छ । नेपालका ५८ वटा ग्यास उद्योगले भर्ने ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ । उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर साट्न र अनावश्यक रूपमा ग्यास मौज्दात नराखे पनि ग्यासको अभाव हुन नदिने नेपाल एलपी ग्यास उद्योग संघको दाबी रहेको छ ।
अध्यक्ष चन्दले सिलिन्डर अभावले उत्पादन प्रभावित भएको समेत बताए । उद्योगका सिलिन्डर चितवनस्थित नेपाल ग्यास गण्डकीमा बोटलिङ भइरहेको छ । तर सिलिन्डरकै अभावका कारण मागअनुसार ग्यास भर्न नसकिएको नेपाल ग्यासका सञ्चालक गोकुल भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नेपाल ग्यासले काठमाडौं उपत्यकामा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएको छ । केही दिनभित्र दैनिक आठदेखि १० हजार सिलिन्डर काठमाडौं ल्याउने गरी तयारी गरिएको उनले बताए । संघका अनुसार उद्योगहरूले पनि खाली सिलिन्डर ट्रकमार्फत उपत्यकाबाहिरका उद्योगमा पठाएर ग्यास भरेपछि काठमाडौं ल्याउन थालेका छन् । रातको समयमा कान्ति लोकपथमा मालवाहक गाडी सञ्चालनमा कठिनाइ हुने भएकाले खाली सिलिन्डर बोकेका ट्रक काठमाडौं आउन ढिलाइ भइरहेको संघका अधिकारीहरू बताउँछन् ।
यसैबीच पुथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको बताइएको छ । निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार करिब १२ दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो । काठमाडौंबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको उनको भनाई छ । ग्यास बुलेट काठमाडौं आएसँगै भने समाधान हुन सक्ने देखिन्छ ।