काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङ ठगीसम्बन्धी जाहेरीमा पक्राउ परेपछि रकम बुझाएर रिहा भएका छन् ।पूर्वराज्यमन्त्रीसमेत रहेका गुरुङ ९ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीन जना पीडितले गुरुङविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार जाहेरीकर्ताहरूको रकम बुझाएपछि गुरुङलाई रिहा गरिएको हो ।गुरुङलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो । उनीविरुद्ध दोर्जे शेर्पा, रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए ।स्रोतका अनुसार गुरुङले जाहेरीकर्तामध्ये दोर्जे शेर्पालाई ३३ लाख ५० हजार रुपैयाँ, रिंगुज्याम्बु शेर्पालाई १४ लाख रुपैयाँ र सुनुर्पा शेर्पालाई २४ लाख रुपैयाँ बुझाएका छन् । तीन जनालाई गरी उनले कुल ७१ लाख ५० हजार रुपैयाँ बुझाएको स्रोतको दाबी छ । रकम बुझाएपछि गुरुङ शुक्रबार प्रहरी हिरासतबाट रिहा भएका हुन् ।