काठमाडौं ।सर्वोच्च अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका विवादास्पद व्यक्ति जनकराज कालाखेतीलाई नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएर बालेन सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने आफ्नै घोषित नीतिविरुद्ध लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री खड्गराज पौडेल ‘गनेश’ले डीएमडी कालाखेतीलाई निमित्त महाप्रबन्धको जिम्मेवारी दिएका हुन् । कालाखेतीविरुद्धको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचाको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।
उनलाई यसअघि जेनजी मुभमेन्टपछिको सुशीला कार्की सरकारको पालामा युवराज अधिकारीको कार्यकाल सकिएपछि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो । तर कालाखेतीले काम गर्न नसक्ने जनाएर एक हप्ता नबित्दै राजीनामा दिएर जिम्मेवारीबाट हटेका थिए । निगमलाई स्थायी भन्सारको रूपमा दोहन गरेर अतिरिक्त आम्दानी गर्दै आएका कालाखेतीको ५२ नम्बर ब्रोकर कम्पनीमा २५ प्रतिशत लगानी रहेको बताइएको छ । त्यस्तै ५८ मध्येका दुईवटा ग्यास उद्योग र केही पेट्रोल पम्पमा उनको लगानी रहेको बताइएको छ । भ्रष्टाचारको मुद्दा खेपी रहेको व्याक्तिलाई यसरी बढुुवा गरेर नयाँ जिम्मेवारी तोकिनु नियमसंगत मानिँदैन । निगममा सरुवा, बढुवा, पोस्टिङ, जिएसए प्रदान तथा खरिद प्रक्रियामा हुने अनियमिततामा सक्रिय सहभागिता रहँदै आएको आरोप उनीमाथि छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गरिरहेको बताइएको छ । कालाखेतीले यसअघि अधिकारीले कार्यकारी अध्यक्षमा नियुक्ति लिनुअघि पोष्टिङ र जिएसए प्रदान गर्दाको लेनदेनमा पनि विवाद भएको थियो । अधिकारी र कालाखेती कर्मचारीका नजरमा उत्तिकै बेइमान मानिन्छन् । अधिकारी हटेपछि अहिलेको सुशासन स्थापना गर्ने सरकारले कालाखेतीलाई भदौ १८ गते निमित्त महाप्रबन्धक तोकेपछि अब नियममा सुधार हुन्छ कि भनेर आस गरेका कर्मचारी र शुभचिन्तकहरू चिन्तित भएका छन् । दैनिक एक करोड ५८ लाख रुपैयाँ आम्दानी हुने एउटा वाइडबडी विमान ९ अगस्ट २०२६ मा फर्कनुपर्ने थियो । एउटा सानो पार्टपुर्जा किन्ने निर्णय हुन नसक्दा निगमले २५ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको छ । जेनजी विद्रोह र त्यसले स्थापना गरेको बालेन सरकारले निगमका भ्रष्टाचार छानबिन गर्ने र भ्रष्टाचारीहरूलाई कारबाही गर्ने अपेक्षा गरिरहेको बेला हटेको भ्रस्टाचारीकै जोडालाई जिम्मेवारी दिएपछि अब निगमलाई पशुपतिनाथले पनि सुधार्न नसक्ने विश्लेषण गर्न थालिएको छ ।