काठमाडौं, राष्ट्रिय उपभोक्ता मञ्चले खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । मञ्चले शनिबार विज्ञप्ति जारी गरी एलपी ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको हो । हाल सरकारले ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।
बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण नागरिकले ज्यान, धनसम्पत्ति र बासस्थान गुमाइरहेका बेला उपभोक्तामाथि थप आर्थिक भार थोपर्ने गरी ग्यासको मूल्य बढाइनु अमानवीय, गैरजिम्मेवार र निन्दनीय कार्य भएको मञ्चले जनाएको छ । सरकारले ‘लामो बाटोबाट ढुवानी गर्नुपरेको’ भन्ने तर्क अघि सारेर ग्यासको मूल्य बढाएको छ । तर त्यसलाई मञ्चले विपद्को संवेदनशील अवस्थामाथि गरिएको अनुचित व्यापारिक लाभ भएको टिप्पणी गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संकटका बेला बजार अनुगमन, मूल्य नियन्त्रण र उपभोक्तालाई राहत दिनुपर्ने सरकारी निकाय नेपाल आयल निगम नै उद्योगीको मूल्यवृद्धिमा सहयोगी बन्नु अस्वभाविक भएको बताए । विपद्मा परेका नागरिकलाई राहत दिनुपर्ने समयमा राज्यकै स्वामित्वको निकायको संलग्नतामा मूल्यवृद्धि भएको मञ्चको आरोप छ । बाढी तथा विपद् पीडित नागरिकका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग आह्वान गरिरहेको र निजी क्षेत्र तथा व्यवसायीहरूले समेत सहयोगको हात बढाइरहेको अवस्थामा खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको मूल्य बढाइनु संवेदनहीनताको पराकाष्ठा भएको मञ्चले जनाएको छ ।
विपद्को मौका छोपेर उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थोपर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने अध्यक्ष महर्जनले बताए । मञ्चले विपद् र ढुवानीको बहानामा ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न, मूल्यवृद्धिमा संलग्नलाई कारबाही गर्न र एलपी ग्यासलगायत सम्पूर्ण दैनिक उपभोग्य वस्तुको सहज, सुलभ र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसंग माग गरेको छ । विपद्को संवेदनशील अवस्थामा उपभोक्तालाई राहत दिनुपर्ने सरकार र नियमनकारी निकायले उल्टै मूल्यवृद्धिलाई प्रश्रय दिएर जनतामाथि अन्याय गर्न नहुने मञ्चको भनाइ छ ।