काठमाडौं, ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीका अनुसार जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी यसअघि नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ । विशेष साधारणसभाले कम्पनीको संस्थापक सेयरको अंकित मूल्यमा प्रति सेयर १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णयसमेत गरेको छ । यस्तै कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बिक्री कारोबार १८ दशमलब ९६ प्रतिशतले बढेर करिब ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीका अनुसार पछिल्ला पाँच आर्थिक वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पुँजीगत संरचनामा समेत सुधार भएको जनाएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७ दशमलब ४१ गुणाबाट घटेर २ दशमलब ४४ गुणा कायम भएको छ । सो अवधिमा ६ करोड रुपैयाँ नयाँ सेयर पुँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुसार सञ्चित नाफा समायोजनपछि मूर्त खुद सम्पत्ति करिब ८ करोड २० लाख रुपैयाँबाट बढेर २२ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।
७० प्रतिशतभन्दा बढी उत्पादन निर्यात
ग्रिनप्लाईले प्लाइउड, ब्लकबोर्ड तथा फ्लस डोर उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार कुल उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ । कम्पनीले भारतीय बजारमा उत्पादन निर्यातका लागि बीआईएस प्रमाणिकरण प्राप्त गरेको जनाएको छ । निर्यात प्रवद्र्धनबापत नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले आवासीय, व्यावसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई लक्षित गर्दै उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश तथा प्रविधिमा लगानी गर्ने योजना अघि सारेको छ ।