काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धनमा सञ्चालन भएको बन्दमुखी सामूहिक लगानी योजना ‘रिलायबल समृद्धि योजना–२’ का इकाइहरू शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् । योजनाको व्यवस्थापन रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले गरेको छ भने सोही कम्पनी योजनाको डिपोजिटरीको भूमिकामा पनि रहेको छ ।
नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख ३ गते योजनाको सार्वजनिक निष्कासनका लागि स्वीकृति दिएको थियो । सार्वजनिक निष्कासनपश्चात् योजनाको अन्तिम इकाइ बाँडफाँट २०८३ असार ४ गते सम्पन्न भएको थियो । कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामूहिक लगानी कोषको प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ रहेको छ । योजनाको कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने यसको अवधि १० वर्ष तोकिएको छ । नेप्सेमा साउन २२ गते सूचीकृत भएका योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ ।
रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको योजना व्यवस्थापकले जनाएको छ ।