काठमाडौं, हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ । नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालबाट प्रदान गरिने विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् । यस व्यवस्थाले विशेषगरी आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नागरिकलाई राहत पुर्याउनुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस सहकार्यको मुख्य उद्देश्य नगरपालिकास्तरमा स्वास्थ्य सेवाको सुदृढीकरण, जनस्वास्थ्य प्रवद्र्धन, नियमित स्वास्थ्य परीक्षणको संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको छ । साथै, दीर्घकालीन रोगहरूको समयमै पहिचान, प्रारम्भिक उपचार, जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण तथा स्वस्थ समुदाय निर्माणमा समेत यस सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
सम्झौता कार्यक्रममा अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले यस सहकार्यले नगरवासीलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरे ।