काठमाडौं, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफामा ८४ प्रतिशत बढीले वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजारको तुलनामा ८४ दशमलव ४५ प्रतिशतले बढी हो ।
आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२ दशमलव २५ प्रतिशतले वृद्धि भई १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३ दशमलव ४० प्रतिशतबाट घटेर १ दशमलव ८७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ । कुल सम्पत्ति ८ अर्ब ४३ करोड बाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने कुल स्वपुँजी (इक्विटी) १ अर्ब ४९ करोड बाट बढेर १ अर्ब ८९ करोड पुगेको छ । यस अवधिमा शुद्ध ब्याज आम्दानी २२ करोड १० लाख बाट बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । त्यस्तै, सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजारबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । प्रमुख वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ । वार्षिकीकृत स्वपुँजी प्रतिफल १४ दशमलव ५२ प्रतिशतबाट बढेर २१ दशमलव १२ प्रतिशत पुगेको छ भने वार्षिकीकृत आधारभूत प्रतिसेयर आम्दानी २६ दशमलव ०४ बाट बढेर ४८ दशमलव ०४ पुगेको छ ।
साथै, कम्पनीको कोषको लागत ६ दशमलव ४० प्रतिशतबाट घटेर ५ दशमलव ७७ प्रतिशतमा झरेको छ । ब्याजदर अन्तर १ दशमलव ९८ प्रतिशतबाट बढेर ३ दशमलव ३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२ दशमलव ३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।