काठमाडौं, घरजग्गा क्षेत्रलाई चलायमान बनाउन सके मुलुकको समग्र अर्थतन्त्रले गति लिने व्यवसायी तथा स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । उनीहरूले घरजग्गा क्षेत्रसँग उपभोग, रोजगारी, उत्पादन, व्यापार तथा राजस्वलगायत अर्थतन्त्रका अधिकांश क्षेत्र प्रत्यक्ष रूपमा जोडिएकाले यस क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
निक भुजिकिक हाउजिङका सञ्चालक प्रविन कुस्माले घरजग्गा क्षेत्र चलायमान हुँदा त्यसको प्रत्यक्ष प्रभाव मुलुकको समग्र अर्थतन्त्रमा पर्ने बताए । उनका अनुसार घरजग्गा कारोबार बढ्दा उपभोग, रोजगारी, उत्पादन, व्यापार र सरकारी राजस्वमा वृद्धि हुनुका साथै अर्थतन्त्रका अन्य क्षेत्रसमेत चलायमान हुन्छन् । घरजग्गा क्षेत्र चलायमान भए मुलुकको सिंगो अर्थतन्त्र चलायमान हुन्छ । उपभोग, रोजगारी, उत्पादन, व्यापार र राजस्व सबै बढ्छन् । कुस्माले भने, ‘त्यसैले सरकारले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन यस क्षेत्रमा रहेका कठिनाइ र अप्ठ्यारालाई फुकाउने गरी नीतिगत सहजता कायम गर्नुपर्छ ।’ उनले व्यवस्थित आवास तथा घडेरी विकासलाई केवल घरजग्गा कारोबारका रूपमा बुझ्न नहुने बताए । व्यवस्थित आवास निर्माणमार्फत ग्रामीण क्षेत्रको विकासलाई समेत गति दिन सकिने उनको भनाइ छ ।
कुस्माका अनुसार व्यवस्थित आवास निर्माण गर्नु भनेको सहरका सुविधा ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु पनि हो । यस्ता आयोजनाका कारण ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात तथा अन्य सेवा विस्तार हुने र स्थानीय उत्पादनले समेत बजार पाउने उनको भनाइ छ । व्यवस्थित आवास निर्माण भनेको सहरलाई गाउँमा लैजानु हो । यसले ग्रामीण क्षेत्रको पनि विकास हुन्छ । उनले भने, ‘स्थानीय उत्पादनले घरनजिकै बजार पाउँछन् र ग्रामीण क्षेत्रको अर्थतन्त्रसमेत उकालो लाग्छ ।’
उनले आफूहरूले सानातिना कित्तामा सीमित भएर भन्दा पनि ठूलो परिमाणमा जग्गा एकीकृत गरी स्थानीय जग्गाधनीलाई समेत सहभागी गराएर व्यवस्थित घडेरी विकास गर्दै आएको बताए । यस्तो मोडलले सम्बन्धित क्षेत्रका स्थानीयवासी र जग्गाधनीलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । हामीले केही रोपनीमा सीमित भएरभन्दा पनि सयौं रोपनी जग्गा लिएर स्थानीयवासी अर्थात् सम्बन्धित जग्गाधनीलाई समेत सहभागी गराई व्यवस्थित घडेरी विकास गर्दै आएका छौं । कुस्माले भने, ‘यसबाट स्थानीयवासी र जग्गाधनी दुवैले प्रत्यक्ष लाभ पाएका छन् ।’ स्थानीयवासीको हितलाई केन्द्रमा राखेर आयोजना सञ्चालन गरेकै कारण आफूहरूले विकास गरेका व्यवस्थित आवास तथा घडेरी आयोजनाहरू सफल भएको उनले दाबी गरे । विशेषगरी भक्तपुर जिल्लाका विभिन्न क्षेत्रमा आफूहरूले व्यवस्थित घडेरी विकास गरेको र ती आयोजनाहरू सफल भएको उनको भनाइ छ ।
यता चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले पनि व्यवस्थित घडेरी विकास स्थानीय तहका लागि राजस्वको महत्वपूर्ण स्रोत बन्न थालेको बताएका छन् । यस्ता आयोजनाले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको उनले बताए । खत्रीका अनुसार व्यवस्थित घडेरी विकाससँगै स्थानीय उत्पादनको उपभोग, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विस्तारमा समेत सकारात्मक प्रभाव परेको छ । विशेषगरी ठूला र व्यवस्थित घडेरी विकास आयोजनामार्फत विद्युत्, खानेपानी, ढल, सडकलगायतका पूर्वाधार निर्माण हुँदा त्यसले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाएको उनको भनाइ छ । ‘व्यवस्थित घडेरीको विकास स्थानीय तहका लागि राजस्वको राम्रो स्रोत बनेको छ । यसले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ,’ खत्रीले भने ।
उनले टुक्रे योजनाभन्दा ठूला र व्यवस्थित घडेरी विकास आयोजनाले स्थानीय पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्ता आयोजनाबाट सडक, खानेपानी, ढल तथा विद्युत् जस्ता आधारभूत पूर्वाधारको विस्तार हुने भएकाले त्यसको लाभ स्थानीय बासिन्दाले समेत प्राप्त गर्ने उनको भनाइ छ । घरजग्गा क्षेत्रको गतिविधिले स्थानीय तहको राजस्वमा समेत उल्लेख्य योगदान पुर्याउने भएकाले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन यस क्षेत्रमा देखिएका समस्या नीतिगत रूपमा समाधान गर्नुपर्नेमा खत्रीले जोड दिए ।
व्यवसायी र स्थानीय तहका प्रतिनिधिले घरजग्गा क्षेत्रलाई केवल जग्गा खरिद–बिक्रीसँग जोडेर हेर्नुभन्दा रोजगारी, पूर्वाधार, उत्पादन, उपभोग र राजस्वसँग जोडिएको व्यापक आर्थिक क्षेत्रका रूपमा हेर्नुपर्ने बताएका छन् । उनीहरूले व्यवस्थित र दीर्घकालीन आवास विकासलाई प्रोत्साहन गर्ने गरी नीतिगत वातावरण बनाउन सके त्यसको लाभ स्थानीय तहदेखि राष्ट्रिय अर्थतन्त्रसम्म पुग्ने बताएका छन् ।