विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङले सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको कोशी ग्यास उद्योगलाई करिब तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि कार्यालय बूढीगङ्गागा उँपालिकका वडा नम्बर ४ मा संचालन हुँदै आएको कोशी ग्यास उद्योग प्रा.लि. लाई दुई लाख नब्बे हजार जरिबाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमन टोलीले उद्योग परिसरमा रहेका १ सय ४३ वटा रिफिल गरिएका सिलिन्डरहरूमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो । उक्त सिलिन्डर परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास फेला परेको थियो । नियमअनुसार एउटा सिलिन्डरमा कम्तीमा पनि १४.२ केजी ग्यास हुनुपर्ने व्यवस्था छ । नियमअनुसारको तौल नभएपछि कोशी ग्यास कम्पनी जरिबानामा परेको हो ।
त्यसैगरी अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम अर्थात् १४.१८५ केजी मात्र पाइएको कार्यलयले जनाएको छ । उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल (टेयर वेट) परीक्षण गर्दा समेत तोकिएको भन्दा बढी देखिएको कार्यालय मोरङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले जिल्ला प्रशासनले उक्त उद्योगविरुद्ध थप कानुनी प्रक्रियासमेत अघि बढाउने तयारी गरेको छ ।
त्यसैगरी विराटनगर महानगरपालिका–७ मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई जिल्ला प्रशासनले कारबाही गरेको छ । अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षणकार्यमा सहयोग नगरेको भन्दै उक्त ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिबाना गरिएको हो । अब जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुनसक्ने कालोबजारी र ठगी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिने पनि जानकारी दिएको छ ।