काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लूएम)को ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारीसाधन (ईभी) सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ । विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता उद्योगका प्रमुख प्रतिस्पर्धी आधार बनेका छन् । अधिकांश अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने अभ्यास गरिरहेका बेला जीडब्लूएमले भने आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्ने काम गरिरहेको छ । यसै रणनीतिअन्तर्गत कम्पनीले हालै विकसित ड्रागन आर्मर ब्याट्री नेपालमा सार्वजनिक गरिएको जीडब्लूएम औरा ५ ईभी एसयूभीमा प्रयोग गरिएको छ । कम्पनीका अनुसार आफ्नै उत्पादन प्रणाली भएकाले ब्याट्रीको गुणस्तर, सुरक्षा तथा विश्वसनीयतामाथि प्रत्यक्ष नियन्त्रण कायम गर्न सम्भव भएको छ । वर्षौंको अनुसन्धान तथा प्रविधि विकासपछि तयार गरिएको यस ब्याट्रीले उच्च सुरक्षा, पानी तथा आगो प्रतिरोधी संरचना, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र स्थिर कार्यसम्पादनलाई एकीकृत गरेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ब्याट्रीको ड्रागन आर्मर नाम यसको विशेष आन्तरिक संरचनाबाट आएको हो । ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तहगत रूपमा व्यवस्थित गरिएका छन्, जसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भएमा उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने व्यवस्था गर्नेछ । यही संरचनाले यात्रु सुरक्षाका लागि अतिरिक्त सुरक्षात्मक कवचको रूपमा काम गर्ने कम्पनीको दाबी छ । ईभी बजारमा सुरक्षा मापदण्डलाई थप मजबुत बनाउने लक्ष्यसहित विकसित गरिएको यस ब्याट्रीले कम्पनीका विद्युतीय सवारीमा सुरक्षासम्बन्धी प्रविधिगत क्षमतालाई थप सुदृढ बनाएको जनाइएको छ ।