काठमाडौं, नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र कलाकार नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको जनाएको छ । कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्ता लगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् । यी साझेदारीहरुले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवर्द्धन गर्न तथा सेवासुविधाहरूको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण योगदान पुर्याउने उनको अपेक्षा छ ।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए । यस सम्झौताका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवर्द्धन, बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । ब्रान्ड एम्बेसडरको रूपमा उनीहरुले कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा–सुविधाहरूको प्रचार–प्रसार तथा कम्पनीको ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।