काठमाडौं, रसुवा बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लि.ले १० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि कम्पनीले बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
ग्लोबल आईएमई बैंकको चेकमार्फत १० लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ । डिस्कभरी सपोर्ट कम्पनीका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा चिनिँदै आएका छन् । उनले जापानमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा निरन्तर आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन् ।
गतवर्ष मात्रै डिस्कभरी सपोर्टले एभरेस्ट फेस्टिभल, दशैँ फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्टलगायतका कार्यक्रमलाई सहयोग गरेको थियो । नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जापानी नागरिक तथा व्यवसायीबाट नेपाली समुदाय र विपद्का समयमा पीडितहरूका लागि प्राप्त यस्तो सहयोगले नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।