काठमाडौँ, चिनियाँ अटोमोबाइल निर्माता डोङफेङका दुई मोडलका बस नेपालमा सार्वजनिक गरिएको छ । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले नाइमा मोविलिटी एक्स्पोमा डोङफेङका बस सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार हाल ७.२ मिटर लम्बाइका दुई बस मोडल सार्वजनिक गरिएको छ । तीमध्ये एउटा २५ सिट र अर्को २७ सिट क्षमताको रहेको छ । बसको प्रारम्भिक मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि कायम गरिएको कम्पनीले जनाएको छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँसम्मको विशेष छुट उपलब्ध गराउने योजना कम्पनीले सार्वजनिक गरेको छ । नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन् । ठूला विद्युतीय बसप्रति सरकारी प्राथमिकता र बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै डोङफेङका बस नेपाल भित्र्याएको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको मागअनुसार बसमा थप सुविधा जडान गर्न सकिने जनाएको छ । सार्वजनिक गरिएका बसमा एसी नभए पनि ग्राहकको मागअनुसार एसी जडान गर्न सकिनेछ । त्यस्तै, लक्जरी सिटसमेत विकल्पका रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बसमा पाँच वर्ष वा २ लाख किलोमिटरको वारेन्टी दिइएको छ । ग्राहकले थप तीन वर्षको एक्स्टेन्डेड वारेन्टी खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । ग्राहकको मागअनुसार बसमा एक वा दुईवटा प्रवेशद्वार राख्न सकिने भए पनि दुईवटा प्रवेशद्वार राख्दा दुई सिट घट्ने बताइएको छ । कम्पनीका अनुसार निकट भविष्यमा डोङफेङका ८.२ मिटरका स्कुल बस, ९ मिटरका ३८ सिट क्षमताका बस र १२ मिटरका ५२ सिट क्षमताका बससमेत नेपाल ल्याउने तयारी छ । ती मोडलको मूल्य तथा अन्य प्राविधिक विवरणपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले आगामी मोडलहरू नेपालमा उपलब्ध अन्य ब्रान्डका तुलनामा प्रतिस्पर्धी मूल्यमा ल्याउने दाबी गरेको छ । यसले नेपाली बजारमा ठूला विद्युतीय बसको प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ ।