काठमाडौं, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आईएमई बैंक तथा बैंकिङ पार्टनरहरू सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन् । आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरू बैंकका स्टलहरूमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन् ।
बैंकहरूले आधारदरमा शून्य दशमलव पाँच प्रतिशतदेखि एक प्रतिशतसम्ममा कर्जा सुविधा दिइरहेका छन् भने सेवा शुल्क पनि शून्य दशमलव पाँच प्रतिशतमात्र लिइरहेको बताएका छन् । मेलाको तेस्रो दिनसम्ममा अवलोकनकर्ताहरूको उपस्थिति बढिरहँदा बैंकका स्टलहरूमा पनि उल्लेख्य भीड बढेको छ । ग्लोबल आईएमई बैंकका एसएमई रिटेल बैंकिङ म्यानेजर मन्जिल विष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढिरहँदा बैंकको स्टलमा आएर कर्जाका बारेमा जानकारी लिनेहरूको संख्या पनि उल्लेख्य बढेको बताए ।

’गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,’ उनले भने । सवारी बिक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएर अवलोकनकर्ताहरूको मन जितिरहँदा त्यसलाई सहयोग पुग्नेगरी हामीले काम गरिरहेका छौँ । मेला अवलोकनपछि कर्जाका लागि नाम दर्ता गराउनेहरूलाई शाखासँग जोड्ने कार्यमा बैंकका स्टलहरूले सहजीकरण गरिरहेका छन् ।
सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका डेटा केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोडाइदिने काम गरिरहेको बताए । ’कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,’ उनले भने । सवारी छनोट गरिसकेपछि कर्जाका लागि नाम दर्ता गराउने अवलोकनकर्ताको संख्या हरेक दिन बढिरहेको शर्माले बताए ।

त्यस्तै एनएमबी बैंकले पनि मेला अवलोकनकर्तालाई मेला स्थलमा रहेको स्टलबाट राम्रो सेवा दिइरहेको जनाएको छ । हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौं । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले भनिन्, ’नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ । ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ ।’
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ ।