टोक्यो, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भू–भाग दाबी गर्दै आएको विवादित कुरिल टापुहरूको पहिलो भ्रमण गरेपछि रुस–जापानबीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ । जापानले पुटिनको भ्रमणप्रति कडा विरोध जनाउँदै ती टापुहरू आफ्नो भू–भाग भएको दोहोर्याएको छ ।
क्रेमलिनले बिहीबार कुरिल द्वीपसमूहमध्ये एक टापुमा पुटिनको भ्रमणको भिडियो सार्वजनिक गरेको थियो । रूसी सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय पुटिनले त्यहाँ रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए । उनलाई क्याभियरसमेत प्रदान गरिएको थियो । पुटिनले त्यसअघि बुधबार नजिकैको रूसी टापु सखालिनको भ्रमण गरेका थिए । सखालिनमा उनले रुसी सेनाले सञ्चालन गरिरहेको अभ्यासको निरीक्षण गर्दै ‘रुसको पूर्वी सिमानाको सुरक्षा सुनिश्चित गर्ने’ विषयमा बैठक गरेको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ ।
जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले पुटिनको कुरिल भ्रमणप्रति कडा आपत्ति जनाएका छन् । उनले उत्तरी क्षेत्र भनेर चिनिने ती टापुहरू ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानून दुवैका आधारमा जापानको अभिन्न भू–भाग भएको बताउँदै भ्रमणको विरोध गरेका छन् । कुरिलका चार मुख्य टापुलाई लिएर रुस र जापानबीच लामो समयदेखि विवाद रहँदै आएको छ । दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सन् १९४५ मा सोभियत संघले ती टापुहरू कब्जा गरेपछि जापानले आफ्नो दाबी कायम राख्दै आएको छ । यही क्षेत्रीय विवादका कारण दुवै देशबीच शान्ति सन्धिसम्बन्धी वार्तामा समेत लामो समयदेखि पूर्ण सहमति हुन सकेको छैन ।
सन् २०२२ मा युक्रेनमा रुसले व्यापक सैन्य कारबाही सुरु गरेपछि भने दुई देशबीचको सम्बन्ध थप चिसिएको छ । जापानले जी–७ का अन्य सदस्य राष्ट्रसँगै रुसमाथि प्रतिबन्ध लगाउँदै युक्रेनलाई आर्थिक तथा गैरघातक सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । पुटिनले बुधबार जापानले लगाएको प्रतिबन्धलाई ‘अप्रेरित’ भन्दै आलोचना गरेका थिए । जापानले रुसलाई आफ्नो प्रमुख सुरक्षा खतरामध्ये एकका रूपमा हेरेको उल्लेख गर्दै उनले रुसले जापानलाई धम्की नदिएको दाबी गरेका थिए ।