काठमाडौं, बैंकिङ, वित्त तथा बीमा क्षेत्रका विज्ञ, नियामक, नीति निर्माता तथा सरोकारवालालाई एकै थलोमा ल्याउँदै बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन)ले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । बीएफआईएनले आगामी १४ अगस्ट २०२६ मा काठमाडौंको र्याडिसन होटलमा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
विश्वव्यापी अनिश्चितता बढिरहेका बेला नेपालको बैंकिङ, वित्त तथा बीमा प्रणालीलाई थप सबल, दिगो र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बीएफआईएनले जनाएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्रमुख अतिथिका रूपमा गर्नेछन् भने नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य डा. रविन्द्रप्रसाद पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन ।
सम्मेलनमा नेपालसहित भारत, बेलायत, चीन, श्रीलंका, बंगलादेशलगायतका देशका वित्तीय क्षेत्रका विज्ञ तथा उच्च अधिकारी सहभागी हुनेछन्। कार्यक्रममा नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का आवासीय प्रतिनिधि प्रणव गुप्ता, साउथ एसियन युनिभर्सिटीका अध्यक्ष प्रा. के.के. अग्रवाल, अक्ससइएसजीकी संस्थापक तथा प्रबन्ध निर्देशक नमिता विकास, मास्टरकार्ड इन्डियाकी निर्देशक आस्था प्रियदर्शी, आईआईएफसीएलका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. पद्मनाभन राजा जयशंकरलगायत वक्ताहरू रहनेछन् । नेपाल राष्ट्र बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, आईसीआईएमओडी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र नेपाल बीमा प्राधिकरणका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहनेछ ।
सम्मेलनमा चारवटा विशेष सत्र तथा तीनवटा उच्चस्तरीय प्यानल छलफल सञ्चालन हुनेछन् । विश्वव्यापी आर्थिक अनिश्चितता, भू–राजनीतिक परिवर्तन र वित्तीय स्थायित्वदेखि पूर्वाधार वित्त, बदलिँदो विश्वमा नेतृत्व, दिगो तथा समावेशी वित्त, जलवायु जोखिम, ईएसजी, डिजिटल भुक्तानी, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र भविष्यको वित्तीय इकोसिस्टमसम्मका विषयमा छलफल हुने आयोजकले जनाएको छ । बीएफआईएनका अनुसार सम्मेलनले नेपालको वित्तीय क्षेत्रलाई थप लचिलो, दिगो र प्रविधिमैत्री बनाउने विषयमा व्यवहारिक सुझाव तथा क्षेत्रीय अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।