काठमाडौं, भ्रष्टाचार र शुसासनको नारा दिएर रास्वपा बरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री गणेश पौडेलले स्वार्थ बाझिने गरी सञ्चालक समितिमा एक व्यक्तिलाई नियुक्ति दिएको खुलेको छ ।
मन्त्री पौडेलले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा साक्षात मल्टिपर्पोज कम्पनी प्राइभेट लिमिटेडमार्फत विगतमा व्यापारिक आपूर्ति गर्दै आएका मोरङको कानेपोखरी गाउँपालिका–३ का उपेन्द्रबहादुर कार्कीलाई निगमकै संचालक समितिको सदस्यमा नियुक्त गरेको थाहा भएको छ ।
प्राप्त कागजात तथा विवरण अनुसार सञ्चालक समितिमा सदस्यका रूपमा नियुक्त भएका उपेन्द्रबहादुर कार्की यसअघि निगमसँग व्यापारिक ठेक्का लिएर कारोबार गर्ने फर्मका मुख्य सञ्चालक हुन् । वायुसेवा निगमको ठेक्का प्रक्रियामा सहभागी भई लाखौँको व्यापारिक कारोबार गर्दै आएका कार्कीलाई बोर्ड सदस्यमा नियुक्ति गरी मन्त्री पौडेलले निगमभित्रको चरम स्वार्थको द्वन्द्वभित्र शुसासन कायम गर्नुको सट्टा उल्टै स्वार्थ बाझिने गरी नियुक्ति गरेका हुन् ।
प्राप्त प्रमाणअनुसार २०७५ साल माघ ९ गते दर्ता भएको कार्कीको कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा निगमको अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ‘कागजको कप’ आपूर्ति गर्ने ठेक्का प्राप्त गरेको थियो ।
मिति २०७९/०७/०२ मा निगम र उक्त कम्पनीबीच भएको करारनामामा निगमको तर्फबाट तत्कालीन उप–निर्देशक प्रतिभा शर्मा र आपूर्तिकर्ताको तर्फबाट कार्कीले हस्ताक्षर गरेका थिए ।
६८ लाख २२ हजार चार सय रुपैयाँबराबरको उक्त ठेक्का सम्झौताअनुसार २०८० असार मसान्तसम्म उक्त कम्पनीले निगमलाई कागजी कपहरू आपूर्ति गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा पनि निगमको बोलपत्र प्रक्रियामा सहभागिता भएको निगमको खरिद शाखाको अभिलेखमा उल्लेख छ ।