काठमाडौं, नेपाल युवा उद्यमी मञ्च झापा च्याप्टरको आयोजना तथा सन सेक्युरिटिज प्रा.लि.को सहकार्यमा लगानी, पुँजी परिचालन तथा पुँजी बजारसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । यही भदौ १० गते बिर्तामोडमा आयोजित कार्यक्रममा ४० जनाभन्दा बढी युवा उद्यमी, व्यवसायी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
मञ्चको झापा च्याप्टरका अध्यक्ष मिजास पोखरेलको नेतृत्वमा आयोजित कार्यक्रममा सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) का अध्यक्ष कृष्ण गिरी तथा सुविज ग्रुपका सीईओ अस्तित्व शर्माले लगानी, पुँजी परिचालन, पुँजी बजार तथा जोखिम व्यवस्थापनका विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल तथा इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे सहभागीलाई जानकारी गराएका थिए । उनले कुनै कम्पनीमा लगानी गर्नुअघि त्यसको व्यावसायिक सम्भावना, वित्तीय अवस्था, व्यवस्थापन, वृद्धि क्षमता तथा सम्भावित जोखिमको मूल्यांकन गर्नुपर्नेमा जोड दिए । गिरीले साना तथा मझौला कम्पनीले ऋण तथा स्वपुँजीमार्फत पुँजी जुटाउने उपाय, आईपीओ जारी गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया तथा संस्थापक सेयरको प्लेसमेन्टको महत्वबारे समेत जानकारी दिएका थिए । उनका अनुसार लगानीकर्ताले केवल प्रतिफलको सम्भावना हेरेर मात्रै लगानी नगरी कम्पनीको समग्र वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन गर्न आवश्यक हुन्छ ।
त्यस्तै, सुविज ग्रुपका सीईओ अस्तित्व शर्माले दोस्रो बजार तथा सेयर कारोबारमा केन्द्रित प्रस्तुति दिएका थिए। उनले सेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय विवरण, आम्दानी, नाफा, व्यावसायिक अवस्था, व्यवस्थापन तथा फ्युचर ग्रोथको सम्भावनालाई आधार बनाउनुपर्ने बताए । शर्माले प्राविधिक विश्लेषण, बजारको प्रवृत्ति तथा मूल्य गतिविधिको अध्ययनलाई लगानी निर्णयसँग कसरी जोड्ने भन्ने विषयमा समेत सहभागीलाई जानकारी दिए। सम्भावित जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उपायबारे पनि उनले चर्चा गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले वक्ताहरूसँग आईपीओ दोस्रो बजार, कम्पनी मूल्यांकन, लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न प्रश्न राखेका थिए। अन्तरक्रिया तथा प्रश्नोत्तरले कार्यक्रमलाई थप व्यावहारिक र सहभागितामूलक बनाएको आयोजकले जनाएको छ । युवा उद्यमीमा वित्तीय ज्ञान, लगानीसम्बन्धी सचेतना तथा व्यावसायिक निर्णय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीलाई लगानी र पुँजी व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको मञ्च झापा च्याप्टरले जनाएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै मञ्च झापा च्याप्टरले आगामी दिनमा पनि युवा उद्यमी तथा व्यवसायीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता ज्ञानमूलक तथा व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।