काठमाडौं, हिमपहिरो खस्दा ताल फुटेर गत बुधबार बिहान भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीले रसुवा र नुवाकोटको मुख्य बजार, पुल र सडक सञ्जाल क्षतविक्षत बनायो । हजारौँ नागरिक बेपत्ता छन् । राज्यले बेपत्ताको वास्तविक तथ्यांक समेत निकाल्न सकेको छैन । बाढीपछि संघ सरकार प्रदेश र स्थानीय तहसँग समन्वय नगरी सबैतिर एकद्वार नीति लिएर खोज तथा उद्धार र राहत कार्यमा लागेको बेला प्रदेश सरकारले भने सबै क्षेत्रलाई भौतिक रूपमा जोड्ने प्रयास स्वरूप तुइन निर्माण थालेको छ । प्रदेश सरकारको प्रयासले नागरिकलाई आवतजावत र सामान ओसारपसारमा ठूलो सहयोग पुर्याएको छ । तीव्र गतिको बाढीका कारण बजार तथा बस्तीको साथै सडक÷पुल बगाउँदा नुवाकोट र रसुवाका गाउँहरू भदौ १० गते बुधबारदेखि एक–अर्कामा सम्पर्क स्थापित हुन नसकिरहेको बेला बागमती प्रदेश सरकारले त्रिशूली नदीको पूर्व र पश्चिमलाई जोड्ने अभियानअन्तर्गत आफ्नै बजेटबाट तुइन खरिद गर्दै निर्माण सुरु गरेपछि प्रदेश सरकार सक्रिय छ भन्ने आभाष हुन थालेको छ ।
सोमबार बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले विदुर नगरपालिका–१ को त्रिशूली नदीपूर्वको फूलबारी गेटको इन्द्रायणी ग्याबिन फ्याक्ट्रीबाट सोही वडाको त्रिशूली बजारको उत्तरतर्फको गुम्बा नजिकै तुइन जोडेको छ । यसले बाढीबाट तहसनहस भएको नुवाकोटकै सबैभन्दा पुरानो बजार त्रिशूली बजार र नदी पश्चिमको क्षेत्रलाई विदुरसँग सम्पर्क स्थापना गर्नुको साथै जिल्ला अस्पताललाई समेत जिल्लाका अन्य भागसँग सम्पर्क गराइदिएको छ ।
केही दिनअगाडि नुवाकोटको विदुरबाट नुवाकोट दरबार चोगते रसुवाको नौकुण्ड गाउँपालिकाको सरमथली हुँदै वेत्रावती नजिकको जिरोकिलो भन्ने ठाउँबाट रसुवा सदरमुकाम धुन्चे मोटरबाटो सञ्चालनमा नेतृत्वदायी भूमिका खेलेको प्रदेश सरकारले सोमबारबाट तुइनसमेत जडान गर्न थालेपछि स्थानीय तह र प्रदेश सरकारबीच समन्वयमा काम गर्ने वातावरण बनेको छ ।
सोमबार तुइन जडान कार्यमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलगायतका जनप्रतिनिधि, नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सक्रियता थियो । व्यवसायी सुशिल प्रसाद फुयालका अनुसार सडक, पुल, तुइनजस्ता पूर्वाधार निर्माणमा निर्माण व्यवसायीहरूले कुनै कन्जुस्याईँ नगरी दुःखमा सरकारको काममा सहयोग गरेका छन् ।

पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार सोमबार एउटा तुइन जडान गरिएको छ भने मंगलबार त्रिशूली नदीमाथि नै विदुर नगरपालिका वडा नं. ५ को देवीघाट बजारलाई सोही नगरपालिकाको वडा नं. ३ को फिर्केप (देवीघाट)सँग जोड्न अर्को तुइन जडान गरिनेछ । तुइन जडान कार्यमा नेपाली सेनाले पूर्ण रूपमा सहयोग गरेको छ । अन्य तीन स्थानमा भने तुइन जोड्न ड्रोनबाट सर्भे जारी छ । प्रमुख थापाका अनुसार सिमचौर–गौरीबेसी, भैसे–तुप्चे र बेत्रावती–सोलेमा पनि त्रिशूली नदीमाथि तुइन जडान गरिनेछ । उक्त जडानको कार्य केही दिनमै पूरा हुनेछ ।
सोमबार इन्द्रायणी ग्याबिन फ्याक्ट्रीबाट जडान गरिएको पुलको मूल्य १५ लाख रुपैयाँ परेको छ । तुइनको मूल्य लम्बाइअनुसार पर्ने भएकाले अन्य ठाउँमा मंगलबारदेखि जडान गरिने तुइनको मूल्य फरक–फरक हुन सक्छ । थापाका अनुसार तुइनबाट एक पटकमा दुई जना व्यक्ति आवतजावत गर्न मिल्छ भने एक सय ५० केजी सामान ओसार–पसार गर्न मिल्छ । दिनभर चलायमान मिल्ने र कुनै अतिरिक्त ऊर्जा शक्ति प्रयोग गर्न नपर्ने भएकाले यसलाई तत्काल किफायती सवारीसाधनको रूपमा लिइएको छ ।
अहिले बाढी आएपछि संघ सरकारले प्रदेश र स्थानीय तहसँग अधिकांश विषयमा समन्वय नै गरेको छैन । संघमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भए पनि प्रदेश र स्थानीय तहमा उनीहरूको संख्या शून्य छ । त्यही कारण राहत वितरणमा समेत संघ सरकारले स्थानीय तह र प्रदेश सरकारलाई आफ्नो साथमा लिएको छैन ।
देवीघाटमा मंगलबार जडान गरिने तुइनले फिर्केपलगायत तारकेश्वर गाउँपालिकालाई सिधै जिल्ला सदरमुकाम विदुरसँग जोड्नेछ । सम्पर्क नै विच्छेद भएपछि बिरामीले समेत उपचार पाउन सकेका थिएनन् । यद्यपि फिर्केपबाट त्रिशूली अस्पताल जाने सडक मार्ग भने आइतबारदेखि खुलेको छ । उक्त कच्ची सडकमा गल्छीदेखि नै साना सवारीसाधन आउन सक्छ ।