काठमाडौं, नेपाल राष्ट्र बैंकले रसुवा बाढीबाट प्रभावित क्षेत्रहरूमा वैकल्पिक स्थानबाट सेवा दिन बैंकहरूलाई निर्देशन दिएको छ । रसुवालगायतका जिल्लामा हालै आएको प्राकृतिक विपद्बाट बैंकिङ क्षेत्रसमेत प्रभावित भएपछि राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पर्कमा नरहेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै सेवा सुचारु गर्न आग्रह गरेको छ । बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अवरुद्ध हुन नदिन राष्ट्र बैंकले तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहजीकरण गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता कायम राख्न विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको हो ।
प्राकृतिक विपद्का कारण कतिपय बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, भौतिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा नियमित स्थानबाट सेवा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको छ । यस्तो अवस्थामा वैकल्पिक स्थान तथा विद्युतीय माध्यममार्फत सेवा सञ्चालन गरी सेवाग्राहीलाई बैंकिङ सुविधाबाट वञ्चित हुन नदिन राष्ट्र बैंकले जोड दिएको छ ।
राष्ट्र बैंकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन समेत गरेको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक आर्थिक सहयोग तथा वित्तीय पहुँच सहज बनाउन बैंकिङ क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।