ललितपुर । तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएर देशका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याइरहेका बेला ललितपुरको लगनखेलस्थित इन्फोवेएज कम्प्युटर सिस्टम्सले बाढी प्रभावितको राहत तथा सहयोगका लागि सामाजिक पहल अघि बढाएको छ।
कम्पनीले बिक्री तथा सेवा प्रवाहबाट जारी हुने प्रत्येक बिलको १ प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको हो।तिब्बतबाट आएको पानीका कारण भोटेकोशी नदीमा आएको बाढीले प्रभावित भएका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। अब इन्फोवेएजबाट सामान खरिद गर्दा वा कुनै सेवा लिँदा जारी हुने प्रत्येक बिलको १ प्रतिशत रकम राहत सहयोगका रूपमा छुट्याइनेछ।
कम्पनीले आफ्नो व्यावसायिक गतिविधिलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपद् प्रभावित नागरिकका लागि सानो भए पनि निरन्तर सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालनमा ल्याएको जनाएको छ।“तपाईंको खरिद, विपद्मा हाम्रो सहयोग” भन्ने सन्देशसहित सुरु गरिएको यस पहलमार्फत ग्राहकको दैनिक खरिद तथा सेवा उपभोगसँगै सामाजिक सहयोगलाई जोड्ने लक्ष्य राखिएको छ।
तिब्बत क्षेत्रबाट आएको पानीका कारण रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा प्रभाव पारेपछि विभिन्न संघसंस्था, निजी क्षेत्र तथा सर्वसाधारणबाट राहत तथा सहयोगका पहलहरू भइरहेका छन्। इन्फोवेएजले सुरु गरेको यो अभियानले ग्राहकको प्रत्येक खरिदलाई समेत विपद् प्रभावितको सहयोगसँग जोड्ने अपेक्षा गरिएको छ।